कुलेखानी सडकमा मिनी ट्रक दुर्घटना : चालक घाइते, सहचालक बेपत्ता

मकवानपुर । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ बतासे डाँडामा खाद्यान्न बोकेको मिनी ट्रक दुर्घटना हुँदा चालक घाइते भएका छन् भने सहचालक बेपत्ता भएका छन्।

बिहीबार बिहान करिब ६ बजे हेटौंडाबाट काठमाडौंको दक्षिणकालीतर्फ जाँदै गरेको प्रदेश ३–०१–००३ क ५६०५ नम्बरको मिनी ट्रक हेटौंडा–भीमफेदी–कुलेखानी–काठमाडौं सडकखण्डबाट करिब १०० मिटर तल खसेर दुर्घटना भएको हो।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार दुर्घटनामा धादिङको बेनिघाट रोराङ गाउँपालिका–२ का २६ वर्षीय चालक पुष्पराज भुजेल घाइते भएका छन्। उनको निधार, दाहिने हातलगायत शरीरका विभिन्न भागमा चोट लागेको प्रहरीले जनाएको छ।

उनलाई उपचारका लागि काठमाडौं पठाइएको र अवस्था मध्यम रहेको छ। ट्रकमा चालकसँगै रहेका सोही ठाउँका २१ वर्षीय सहचालक रमेश विक भने घटनास्थलमा फेला परेका छैनन्। उनको खोजी भइरहेको छ।

घटनाको खबर पाएलगत्तै प्रहरी चौकी खानीखेत र इलाका प्रहरी कार्यालय भीमफेदीबाट प्रहरी निरीक्षक सनम मल्लको कमान्डमा ट्राफिक प्रहरीसहितको टोली घटनास्थल पुगेको थियो।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.