हेटौंडा । भीमफेदी गाउँपालिका–८ महादेवटारस्थित फास्ट ट्र्याकको सुरुङमा काम गर्ने क्रममा एक कामदार घाइते भएका छन्। बागमती प्रदेश प्रहरी कार्यालयका अनुसार बिहीबार बिहान करिब ८:३० बजे सुरुङभित्र ड्रिलिङ फुटलर (ड्रिलिङ सम्बन्धी काम) गरिरहेका २१ वर्षीय पूर्ण बहादुर स्याङतान अचानक पाइप फुट्दा घाइते भएका हुन्।
पाइप फुटेर लाग्दा उनको छातीमा भित्री चोट लागेको र मुखबाट रगत बगेको प्रहरीले जनाएको छ। घाइते स्याङतानलाई तत्काल उपचारका लागि हेटौंडास्थित सिएमसी चुरेहिल अस्पताल ल्याइएको छ। चिकित्सकका अनुसार उनको अवस्था मध्यम रहेको छ।
प्रहरीका अनुसार घटनाबारे बिहान करिब १०:४० बजे जानकारी प्राप्त भएको थियो। उपचारमा सोही स्थानमा कार्यरत सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–७ निवासी खेल बहादुर प्रधान संलग्न रहेका छन्। उक्त घटना स्थल इलाका प्रहरी कार्यालय ठिंगनबाट करिब १० किलोमिटर टाढा पर्छ। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।















