मकवानपुर । मकवानपुरको कैलाश गाउँपालिका–२ का वडाध्यक्ष राजेन्द्र घिसिङले नवनियुक्त ऊर्जा मन्त्री कुलमान घिसिङलाई खुला पत्र लेख्दै बधाईसहित सुझाव दिएका छन्।
पत्रमा उनले उज्यालो नेपाल बनाउन महत्वपूर्ण योगदान पुर्याएका घिसिङ मन्त्रीमा नियुक्त भएकोमा शुभकामना व्यक्त गर्दै हालैको आन्दोलनमा ज्यान गुमाएका युवाप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्। उनले सहिदहरूको रगतलाई न्याय दिलाउन सरकारले पहल गर्नुपर्नेमा जोड दिए ।
ऊर्जा क्षेत्रमा हुने अनियमितता, सेटिङ र जालो भत्काउनुपर्नेमा जोड दिँदै वडाध्यक्ष घिसिङले अझै अँध्यारोमा रहेका ग्रामीण बस्तीहरूलाई प्राथमिकताका साथ विद्युतीकरण गर्न मन्त्रीलाई आग्रह गरे । “सिंहदरबारमा मन्त्री भेट्न गाउँका सामान्य नागरिकले सहजै पाउनुपर्नेछ, जनतासँग जोडिने खालको कार्यशैली आवश्यक छ,” वडाध्यक्ष घिसिङले पत्रमार्फत् भनेका छन्।
त्यसैगरी, संविधान संशोधनमार्फत प्रत्यक्ष राष्ट्रपति प्रणाली र प्रदेश खारेजीको माग जनताबीच बढिरहेको भन्दै उनले मन्त्रिपरिषदबाट अध्यादेशमार्फत् सुधार ल्याउन सक्ने सुझावसमेत दिए ।
वडाध्यक्ष घिसिङले मन्त्री घिसिङको कार्यकाल जनअपेक्षामूलक र उपलब्धिमूलक होस् भन्ने कामना समेत गरेका छन्।















