हेटौँडा । चलचित्र पत्रकार संघ नेपाल मकवानपुर शाखाले चार जनालाई सम्मान गरेको छ । संघले चलचित्र पत्रकारिता दिवसको अवसरमा शनिबार हेटौँडामा एक कार्यक्रमको आयोजना गरी मकवानपुरका सञ्चारकर्मी गोकुल अधिकारीसहित चार जनालाई सम्मान गरेको हो ।
संघले मकवानपुरमा रहेर सक्रिय पत्रकारिता गरिरहेका अधिकारीलाई चलचित्र पत्रकारिता पुरस्कार २०८२ बाट पुरस्कृत गरिएको हो । अधिकारी रेडियो थाहा सञ्चार ९९.६ मेगाहर्जका स्टेशन म्यानेजर समेत हुन् । साथै संघले चलचत्रि पत्रकार अनन्त वाग्ले, चलचित्र रंग संयोजक रेनिस फागोलाई पनि सम्मान गरेको छ ।
संघले नन्दबहादुर महर्जन स्मृती राष्ट्रिय पत्रकारिता सम्मान २०८२ बाट वरिष्ठ चलचित्र पत्रकार वाग्लेलाई नगद राशी ११ हजार १११ रुपैयाँ, स्व. धनमान श्रेष्ठ स्मृती कलाकर्मी सम्मान २०८२ बाट रंग संयोजक रेनिस फागो र पहिलो पटक बोक्सीको घर चलचित्रमा अभिनय गरेर चर्चा कमाएकी हेटौंडाकी बालकलाकार शुपला सापकोटालाई अभिनय यात्रामा अझै सफलता मिलोस् भन्ने हेतुले प्रशंसा पत्रले सम्मान गरिएको थियो ।

कार्यक्रम चलचित्र पत्रकार संघ मकवानपुरका अध्यक्ष कपिल खड्काको सभाध्यक्षता एवम् बागमती प्रदेशका खानेपानी, ऊर्जा तथा सिंचाई मन्त्री श्यामबहादुर खड्काको प्रमुख आतिथ्यतामा भएको हो ।
कार्यक्रममा चलचित्र पत्रकार संघ नेपाल केन्द्रीय पूर्व अध्यक्ष शान्तिप्रिय,नेपाल चलचित्र सङ्घका अध्यक्ष नरेन्द्र महर्जन, नेपाल पत्रकार महासंघ बागमती प्रदेश उपाध्यक्ष हरि हुमागाई, जिल्ला अध्यक्ष बालकृष्ण अधिकारी, पूर्व अध्यक्ष राममणि दाहाललगायत विभिन्न संस्थाका प्रतिनिधिहरुको सहभागीता रहेको थियो । वि.सं. २०५६ जेष्ठ ७ गते संघ स्थापना भएकाले हरेक वर्ष जेष्ठ ७ गते चलचित्र पत्रकारिता दिवस मनाउँदै आइरहेको छ ।

















