मकवानपुर । रेडियो मकवानपुरले आयोजना गरेको छैठौं मिडिया कप फुट्सलको उपाधि टिम टेलिभिजनले जितेको छ । नेपाल पत्रकार महासंघ मकवानपुरलाई ५–३ गोलले हराउँदै टिम टेलिभिजनले उपाधि जितेको हो ।
निर्धारित समय २–२ गोलको बराबरी भएको थियो । थपिएको समयमा टिमले गोल गर्दै जित सुनिश्चित गरेको हो । टिमलाई जिताउने क्रममा मनिष खड्काले ४ र विश्वास विश्वकर्माले एक गोल गरेका हुन् । यता पत्रकार महासंघको तर्फबाट रविन्द्र वाइबाले २ र सञ्जिव रसाइलीले एक गोल गरेका थिए ।
प्रतियोगितामा टिम टिभी र पत्रकार महासंघसहित रेडियो मकवानपुर, रेडियो थाहा सञ्चार, हेटौंडा एफएम, बागमती एक्सप्रेस, नेपाल प्रेस युनियन मकवानपुर र नेपाल खेलकुद पत्रकार मञ्चको सहभागिता रहेको थियो ।
प्रतियोगिताको विजेता र उपविजेतालाई यही माघ २२ गते सप्ताहव्यापी कार्यक्रमको समापनका दिन पुरस्कार प्रदान गरिने रेडियो मकवानपुर सञ्चालक समिति अध्यक्ष आनन्दराम पराजुलीले जानकारी दिए ।
रेडियो मकवानपुरका स्टेसन म्यानेजर गणेशदर्पण अधिकारीको अध्यक्षतामा भएको प्रतियोगितामा नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारीको प्रमुख आतिथ्यता रहेको थियो । अधिकारीले रेडियो मकवानपुरले वार्षिकोत्सवको अवसर पारेर प्रत्येक वर्ष मिडिया कप फुट्सलको आयोजना गर्दै पत्रकारको बीचमा भातृत्वको सम्बन्ध स्थापना र खेलप्रतिको लगाव वृद्धि गरेको भन्दै खुसी व्यक्त गरे ।
खेलकुद पत्रकार मञ्च मकवानपुर अध्यक्ष राजन दाहालले प्रतियोगिता निरन्तरताको शुभकामना दिँदै यसले पत्रकारको बीचमा मनोरञ्जनसँगै खेलकुदको विकासमा समेत मद्दत पुग्ने दावी गरे । कार्यक्रममा हेटौंडा ६ नम्बर वडा सदस्य विजय पौडेल, प्रेस युनियन मकवानपुर अध्यक्ष सुवास बिडारी, प्रेस सेन्टर मकवानपुर अध्यक्ष एमपी शर्मालगायतको आतिथ्यता रहेको थियो ।
रेडियो मकवानपुरको १६ औं वार्षिकोत्सव एवम् रेडियोको सञ्चालक संस्था दिव्यतारा बहुद्देश्यीय सहकारीको २८ औं स्थापना दिवसमा माघ १६ गतेबाट विविध सप्ताहव्यापी कार्यक्रमको आयोजना भैरहेको छ । सप्ताहव्यापी कार्यक्रमको समापन यही २२ गते हेटौंडा १ स्थित हिमालयन दरबारमा हुनेछ ।

















