हेटौंडा । सी, बी हुँदै ए डिभिजनसम्मको दीर्घकालीन लक्ष्य राखेको हेटौंडाको पिप्ले युवा क्लवले आज शुक्रबार सी डिभिजन छनौट प्रतियोगितामा कैलालीको मुसौरिया फुटबल एकेडेमीसंग भिड्दैछ । सी डिभिजन छनौट खेल्न बिहीबार काठमाडौं पुगेको टोलीले आज कैलालीसँग पहिलो खेल खेल्न लागेको हो । प्रतियोगितामा सहभागी ३९ क्लवलाई १३ समूहमा विभाजन गरिएको छ ।
पिप्लेले १२ गते पन्चकोशी क्लवसंग खेल्ने तालिका रहेको छ । समूह चरणको विजेताले नकआउट चरणको खेल खेल्दै अघि बढ्नेछ । सी डिभिजन छनौटको फाइनल खेल्ने २ टिमले सी डिभिजन क्लवको हैसियत बनाउनेछ । यस वर्षको सी डिभिजन छनौट बिहीबारबाट काठमाडौमा सुरु भएको छ । बुधबार एक कार्यक्रमकाबीच पिप्लेका खेलाडीहरुको विदाई गरिएको थियो ।
क्लवका अध्यक्ष सुविन घिमिरेले ए डिभिजन लिगसम्म खेल्ने महत्वाकांक्षी योजनासहित सी डिभिजन लिग खेल्न लागिएको बताउँदै सोही अनुसारको टिम समेत बनाइएको दावी गरे । ‘हाम्रो लक्ष्य सी डिभिजन मात्र खेल्नु होइन । बागमती प्रदेशको राजधानीबाट एउटा ए डिभिजन क्लव निर्माण गर्नु हो’, अध्यक्ष घिमिरेले भने, ‘यो हाम्रो पहिलो प्रयास र पाइला हो ।
हाम्रो यो कदममा धेरैको साथ, सहयोग पाइरहेका छौं । खुसी लागेको छ ।’ छनौट खेलका लागि पिप्ले क्लवलाई भीमफेदी गाउँपालिका, हेटौंडा १४ नम्बर वडा र दियालो फोर्स सेक्युरीटी काठमाडौंका सञ्चालक प्रकाश पुरी र प्रदिप कंडेलले समान २/२ लाख रुपैयाँ, हेटौंडाका व्यवसायी विक्रम शाही खड्गी र सकुल श्रेष्ठले ५० हजार रुपैयाँ तथा हेटौंडा रिसोर्टका सन्चालक विनोद बम्जनले एक लाख ५० हजार रुपैयाँ बराबरको केल्मी ब्राण्डको ट्रयाक सहयोग गरेका छन् । पिप्ले क्लवलाई प्रशिक्षक ज्ञानु क्षेत्री र सहायक प्रशिक्षक सुजन खड्कीले प्रशिक्षण गराइरहेका छन् ।

















