हेटौंडा । हेटौंडामा मेयर कप फुटबल प्रतियोगिता–२०८२ सुरु भएको छ । शनिबार हेटौंडा–५ स्थित पिप्लेक्याम्पा रंगशालामा प्रतियोगिताको उद्घाटन हेटौंडा उपमहानगरपालिकाका उपमेयर राजेश बानियाँले गरेका छन् ।
प्रतियोगिताको उद्घाटन खेलमा हेटौंडा–११ ले हेटौंडा–४ लाई ३–० गोलअन्तरले पराजित गरेको छ । विजयी टोलीको तर्फबाट डेञ्जन मोक्तानले १६, सम्बन्ध डिम्डुङले २७ र मनोज घलानले ७२ मिनेटमा गोल गरेका थिए । खेलको म्यान अफ दी म्याच विजयी टोलीका पवन राइ घोषित भएका थिए ।
आयोजक नगर खेलकुद विकास समिति अध्यक्ष रविन्द्र घिमिरेको सभाध्यक्षतामा भएको उद्घाटन समारोहमा उपमेयर राजेश बानियाँलको प्रमुख आतिथ्यता रहेको थियो । उद्घाटन समारोहमा समिति सदस्य सुनिल लोप्चन, हेटौंडा–११ अध्यक्ष जुना दाहाल, अखिल नेपाल फुटबल संघ मकवानपुर अध्यक्ष टीका लामालगायतले मन्तव्य व्यक्त गरेका थिए ।
प्रतियोगितामा हेटौंडाको १९ वटै वडाको सहभागिता रहेको छ । १३ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा उद्घाटन र फाइनल बाहेक प्रत्येक दिन २ वटा खेल हुनेछ । फुटबल खेलको विकासमा सहयोग पुर्याउने उद्देश्यसहित हेटौंडा उपमहानगरपालिकाको लगानीमा नगर खेलकुद विकास समितिले प्रत्येक वर्ष यस प्रतियोगिताको आयोजना गर्दै आएको हो ।

















