हेटौंडा । नगर खेलकुद विकास समिति हेटौंडाको आयोजनामा पिप्ले क्याम्पा रंगशालामा जारी अनुपम घलान स्मृति नगरस्तरीय यू १६ फुटबल प्रतियोगितामा हेटौंडाको १५ र १८ नम्बर वडा फाइनल प्रवेश गरेको छ । शुक्रबार भएको सेमिफाइनल खेलबाट १५ ले ८ नम्बर वडालाई र १८ ले ९ लाई हराउँदै उपाधि भिडन्त पक्का गरेको हो ।
पहिलो सेमिफाइनलमा १५ ले ८ लाई २–० ले हरायो । १५ का लागि दुवै गोल रोहित डिम्डुङले गरेका हुन् । पहिलो हाफको १२ औं मिनेटमा गोल गरेका डिमडुङले ५१ औं मिनेटमा अग्रता दोब्बर बनाए । उनी नै खेलको म्यान अफ द म्याच घोषित भए ।
दोस्रो सेमिफाइनलमा १८ ले ९ लाई २–१ ले हराएको हो । खेलमा सुरुवाती अग्रता ९ ले लिएपनि त्यसलाई जोगाउन नसक्दा सेमिफाइनलबाटै बाहिरिएको हो । ९ का लागि सञ्जित कार्कीले पहिलो मिनेटमै गोल गरेका थिए । १८ का अभिराज थापा मगरले ३६ औं मिनेटमा बराबरी गोल फर्काए । ३९ औं मिनेटमा थापाले नै फ्रिकिक मार्फत आकर्षक गोल गर्दै आफ्नो वडालाई जित दिलाए ।
मगर नै खेलको म्यान अफ द म्याच घोषित भए । यसअघि सेमिफाइनल प्रवेश गरेको १९ नम्बर वडाले १६ वर्ष भन्दा माथि उमेर समूहको खेलाडी खेलाएको प्रमाणित भएपछि दावी विरोध लागेको थियो । उसको स्थानमा ८ नम्बर वडाले सेमिफाइनल खेलेको थियो । फाइनल खेल शनिबार दिउँसो हुने आयोजकले जनाएको छ । प्रतियोगितामा नगरका १९ मध्ये १० वटा वडाको सहभागिता रहेको छ ।















