हेटौंडा । मकवानपुरको पूर्वी क्षेत्रमा रहेको बागमती गाउँपालिकामा भोली शनिबारबाट सातौं संस्करणको बागमती गोल्डकप फुटबल प्रतियोगिता सुरु हुँदैछ । प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जानकारी दिएको छ । बागमती गाउँपालिका कार्यालयको मुख्य प्रायोजन एवम् पालिकाकै खेलकुद विकास समितिको आयोजनामा प्रतियोगिता हुँदै आएको हो ।
‘सातौं संस्करणको बागमती गोल्डकप फुटबल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ’, पालिका खेलकुद विकास समितिका अध्यक्ष रहरसिंह थिङले भने, ‘छैठौं संस्करणसम्म हामीले फापरबारीको जनता माध्यमिक विद्यालयको खेल मैदानमा गर्दै आएको प्रतियोगिता यस वर्षबाट झुरझुरेमा बनेको नयाँ रंगशालामा गर्दैछौं ।’
प्रतियोगिताको उपाधि विजेता टिमले १० लाख तथा उपविजेता टिमले ५ लाख रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । प्रतियोगिताको सर्वोत्कृट खेलाडीले १ लाख १ हजार रुपैयाँ तथा विधागत उत्कृष्ट खेलाडीले जनही नगद २५ हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछन् ।
प्रतियोगिताको उद्घाटन खेल आयोजक बागमती गाउँपालिका र बागमती युथ क्लब सर्लाहीको बीचमा हुनेछ । प्रतियोगितामा ७ वटा ‘ए’ डिभिजन क्लव र ३ वटा मोफसलका क्लव गरी १० टिमको सहभागिता रहेको छ । प्रतियोगिताका लागि गाउँपालिकाले २५ लाख रुपैयाँ सहयोग गरेको छ । यस्तै हरेक खेलको म्यान अफ द म्याचले नगद १० हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछन् । गोल्डकपका लागि ७४ लाख ७३ हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको आयोजकले बताएको छ ।
प्रतियोगिताका लागि मकवानपुरको १० वटै पालिकाबाट, सिन्धुली जिल्लाको मरिण र हरिहरपुरगढी गाउँपालिकासँग पनि सहयोगका लागि पहल गरिएको खेलकुद विकास समितिका अध्यक्ष थिङले बताए । बागमती गाउँपालिकाका अध्यक्ष सर्केश घलानका अनुसार यस वर्षबाट पालिकाले आफ्नै निर्माण गरेको खेल मैदानलाई व्यवस्थित गरेर प्रतियोगिता आयोजना गर्न लागिएको हो । गत वर्ष भएको छैठौं संस्करणको उपाधि ए डिभिजन क्लव मच्छिन्द्रले जितेको थियो ।
सशस्त्र प्रहरी बलको एपीएफ क्लवलाई हराउँदै मच्छिन्द्रले उपाधि जितेको थियो । यही फागनु १२ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा आयोजक र बागमती युवा क्लवसँगै हमामी बिएफसी चितवन तथा ए डिभिजन क्लवहरु चर्च ब्वाइज, मच्छिन्द्र, संकटा, थ्रीस्टार, हिमालयन शेर्पा, त्रिभुवन आर्मी र एपीएफको सहभागिता रहेको छ ।

















