आज फाइनल प्रवेशका लागि हेटौंडा लाङ्गजिङ्गसँग भिड्दै

हेटौंडा । भारतको पश्चिम बंगाल प्रदेशमा जारी ८०औँ इन्डिपेन्डेन्स डे फुटबल प्रतियोगितामा साविक विजेता हेटौंडा फुटबल एकेडेमीले फाइनल प्रवेशका लागि आज (मंगलबार) लाङ्गजिङ्ग ब्वाइजसँग प्रतिस्पर्धा गर्दैछ।

सोमबार भएको क्वार्टरफाइनल चरणको खेलमा हेटौंडा फुटबल एकेडेमीले फारम ब्वाइजलाई ८–१ गोलको फराकिलो अन्तरले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको हो। सेमिफाइनल खेल कालिम्पोङ जिल्लाको मुनसोङ खेल मैदानमा मंगलबार दिउँसो २ बजे सुरु हुने टिम म्यानेजर छिरिङ लामाले जानकारी दिए।

हेटौंडा फुटबल एकेडेमीले प्रतियोगिताको सुरुवातदेखि नै प्रभावशाली प्रदर्शन गर्दै आएको छ। राउन्ड अफ ३२ को पहिलो खेलमा घरेलु टोली माम्रिङ ब्वाइजलाई ८–१ गोलले पराजित गरेको हेटौंडाले दोस्रो खेलमा हाइल्याण्डर वारियर्सलाई १३–२ गोलले हराउँदै क्वार्टरफाइनलमा प्रवेश गरेको थियो। क्वार्टरफाइनलमा फारम ब्वाइजलाई ८–१ गोलले पराजित गर्दै टोलीले सेमिफाइनलको यात्रा तय गरेको हो।

यसैबीच, हेटौंडा फुटबल एकेडेमीको टोलीले मंगलबार नै पाक्योङ जिल्लामा आयोजना हुने अर्को फुटबल प्रतियोगिताको क्वार्टरफाइनल खेलसमेत खेल्नेछ।

मुनसोङ स्पोर्ट्स एसोसिएसन क्लबको आयोजनामा जारी प्रतियोगितामा ३२ टोलीको सहभागिता रहेको छ। अगस्ट २६ देखि सुरु भएको प्रतियोगिताको फाइनल खेल भारतको इन्डिपेन्डेन्स डेको अवसरमा हुनेछ।

प्रतियोगिताको विजेताले १ लाख रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले ५० हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ। विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई समेत पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ। क्लबले यस वर्षदेखि प्रतियोगिताको पुरस्कार राशि वृद्धि गरेको हो।

हेटौंडा फुटबल एकेडेमीले विगत तीन वर्षदेखि भारतको सिक्किम तथा पश्चिम बंगाल प्रदेशको कालिम्पोङ जिल्लास्थित मुनसोङमा आयोजना हुँदै आएको यस प्रतियोगितामा सहभागिता जनाउँदै आएको छ। पहिलो वर्ष उपविजेता बनेको हेटौंडा फुटबल एकेडेमीले दोस्रो र तेस्रो वर्ष लगातार उपाधि जितेको थियो। यस वर्ष पनि उपाधि रक्षा गर्ने लक्ष्यसहित हेटौंडा मैदानमा उत्रिँदैछ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.