मकवानपुर । बागमती प्रदेश सभाको आज बस्ने गरी आह्वान गरिएको बैठक स्थगित भएको छ । आज ११ बजे बस्ने गरी बोलाइएको प्रदेश सभा बैठक सूचना टाँस गरी स्थगित गरिएको हो ।
विशेष कारण देखाउँदै आजको लागि बोलाएको प्रदेश सभा बैठक नयाँ मिति तय गर्दै स्थगित गरिएको हो । प्रदेश सभाको बैठक यही असार १६ गते अपरान्ह १ बजे बस्ने गरी स्थगित गरिएको हो । प्रदेश सभाका सभामुख भूवनकुमार पाठकले सत्तापक्ष र प्रतिपक्ष दलहरुसँगको सहमति अनुसार बैठक स्थगित गरेका हुन् ।
प्रदेश सभा नियमावली, २०७४ को नियम ६ को उपनियम (३) बमोजिम माननीय सभामुख पाठकले बैठकको समय परिवर्तन गरेको प्रदेश सभाका सचिव रामकुमार पौडेलद्वारा हस्ताक्षरित सूचनामा उल्लेख छ। उक्त सूचनामा प्रदेश सभाका सदस्यहरु तथा सरोकारवाला सबैलाई जानकारीका लागि बैठक समय परिवर्तन गरिएको जनाइएको छ।
गत असार १ गते प्रदेश सभाको बैठकमा आर्थिक मामिला तथा योजना मन्त्रि कुन्दनराज काफ्लेले सरकारको तर्फबाट आगामी आर्थिक वर्ष २०८२–०८३ को लागि बजेट सार्वजनिक गरेका थिए ।
बजेट विनियोजित गरिदा निष्पक्ष पारर्दशी नभएको व्यक्तिमुखी भएको भनि सत्तापक्षका दलका केही सदस्यहरु र प्रतिपक्ष दलहरु सदस्यहरुको प्रतिरोधको कारणबाट आजको बैठक स्थगित हुनुपरेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता उद्धव थापाले जानकारी दिए ।

















