हेटौंडा । समाजमा रहेको विभिन्न वेथितीको विषयमा जानकारी गराउँदै समाजलाई सकारात्मक सोचका साथ अघि बढाउने उद्देश्यले हेटौंडा उपमहानगरका विभिन्न वडामा सचेतनामुलक सडक नाटक प्रस्तुत गरिएको छ । हेटौंडा उपमहानगरपालिका र आर्जन ईन्टरटेन्टमेन्ट एण्ड एड्भरटाईजिङको सहकार्यमा उपमहानगरका विभिन्न वडाहरुमा राष्ट्रिय कलाकारहरुको टोलीले सडक नाटक देखाएको हो ।
वैदेशिक रोजगारीले समाजमा पार्ने नकारात्मक प्रभाव, लागूऔषध दुव्र्यसनको प्रभाव र इन्टरनेटको माध्यमबाट हुने दुव्र्यवहारको बारेमा सडक नाटकमार्फत सचेतना फैलाउन खोजिएको छ । बुधबार हेटौंडा १६ को जनप्रिय र १८ को ज्योति माध्यमिक विद्यालय, बिहीवार हेटौंडा–१३ को महेन्द्र र १४ को जनज्योति माविमा नाटक प्रश्तुत गरिएको छ ।
शक्रबार हेटौंडा ३ को महेन्द्रकिरण मावि, आइतबार हेटौंडा ८ को चन्द्रोदय र १५ को चुरियामाई माविमा सडक नाटक प्रस्तुत हुने उपमहानगरपालिकाले जनाएको छ । बिहीबार हेटौंडा १४ को जनज्योतिमा भएको सडक नाटकमा मेयर मीनाकुमारी लामाको प्रमुख आतिथ्यता रहेको थियो । नाटकको समिक्षा गर्दै लामाले समाजमा भएको वेथितीलाई यस्ता प्रश्तुती मार्फत उजागर गर्दै सकारात्मक सन्देश दिने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको बताइन् । भौतिक विकासमा मात्र नभई नगरबासीको मानसिक विकासका लागि पनि काम गरिरहेको उनले दावी गरिन् ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामचन्द्र ढुङ्गानाको अध्यक्षतामा भएको कार्यक्रममा उपमेयर राजेश बानियाँ, १४ नम्बर वडा अध्यक्ष दीपक खड्का, उपमहानगरका सामाजिक विकास महाशाखा प्रमुख भीमप्रसाद तिमल्सिना लगायतको आतिथ्यता रहेको थियो । सडक नाटकमा बिष्णु सापकोटा , अस्मिता बस्नेत, शिवहरि नेपाल , गुणाखर अधिकारी , युनिसा बानियाँ र कुवेर मोक्तानले प्रश्तुती प्रश्तुत गरेका थिए ।















