मकवानपुर । बागमती प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले नेपाली जनताले लामो संघर्ष, बलिदान र त्यागबाट प्राप्त गरेको लोकतान्त्रिक मूल्य र मान्यता गौरवको धरोहर भएको बताएका छन् ।
प्रदेश प्रमुख देवाकोटाले आज लोकत्रन्त्र दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै यस्तो बताएका हुन् । उनले नेपालीको सहभागिताको जनआन्दोलन भाग– २ को परिणामस्वरूप आज हामी संघीय लोकतान्त्रिक गणतन्त्रको उत्कृष्ट अभ्यासमा रहेको बताए ।
प्रदेश प्रमुख देवकोटा लोकतन्त्र स्थापनामा आफ्नो प्राणको आहुति दिने महान सहिदहरूप्रति उच्च सम्मान भावका साथ हार्दिक श्रद्धाञ्जली अर्पण गरे । नेपाली जनताले लामो संघर्ष, बलिदान र त्यागबाट प्राप्त गरेको लोकतान्त्रिक मूल्य र मान्यता गौरवको धरोहर भएको उनले बताए ।
लोकतन्त्र सार्वभौम नागरिक र नागरिकको स्वतन्त्रताको सर्वोच्चता स्थापित गर्ने दर्शनबाट अभिप्रेरित व्यवस्था भएको उनको भनाई छ । लोकतन्त्रमा शासन प्रणालीलाई पारदर्शी तथा जवाफदेही बनाउने, बेथिति अन्त्य गर्ने, शुसासन कायम गर्ने, जनतामा सेवा प्रवाह अभिवृद्धि गर्ने र जनताको भरोसा जागृत गराउन सबैको प्रतिबद्धता आवश्यक रहेको उनले औल्याए ।
उनले यो महान दिनले हामी सबैमा एकता, मेलमिलाप, सहिष्णुता र जिम्मेवार नागरिकको भावना जागृत गराउनेछ भन्ने कामना समेत गरेका छन् ।

















