हेटौँडा । बागमती प्रदेशमा पाठेघरको मुखको क्यान्सर गराउने ‘ह्युमन प्यापिलोमा भाइरस’ (एचपिभी) विरुद्धको खोप अभियान सुरु भएको छ । हेटौंडा– १ स्थित ज्ञानदा माध्यामिक विद्यालयमा आयोजित कार्यक्रममा मुख्यमन्त्री बहादुर सिंह लामाले स्वास्थ्यकर्मीलाई खोप सामग्री प्रदान गर्दै खोप अभियानको शुभारम्भ गरेका हुन् ।
खोप अभियानको शुभारम्भ गर्दै मुख्यमन्त्री लामाले अझै पनि महिलाहरुले समस्या लुकाएर बस्ने गरेको बताए । विशेष गरी दुर्गम भेगका महिलाले समाजबाट अपहेलित हुने डरले पीडा लुकाएर बस्ने गरेको उनले बताए । मुख्यमन्त्री लामाले स्वास्थ्य समस्यालाई लाजको विषय नबनाउन आग्रह समेत गरे ।
कार्यक्रममा बोल्दै बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापाले सर्ने भन्दा नसर्ने रोगको स्थिती भयावह बन्दै गएको बताए । अभियान अन्तर्गत बागमती प्रदेशका १० वर्षदेखि १४ वर्ष उमेर समूहका २ लाख ९८ हजार तीन सय ५ जना किशोरीलाई खोप प्रदान गरिने मन्त्रालयले जनाएको छ ।
फागुन ६ गतेसम्म सन्चालन हुने उक्त अभियानमा विद्यालय बाहिरा रहेका १० देखि १४ वर्ष उमेर समुहका किशोरीलाई समेत उक्त भाइरस विरुद्धको खोप केन्द्रबाट लगाईने स्वास्थ्य निर्देशनालय बागमती प्रदेशले तयारी गरेको स्वास्थ्य निर्देशनालय , बागमती प्रदेशका निर्देशक नरेन्द्र झाले जानकारी दिए ।
निर्देशक झाका अनुसार बागमती प्रदेशका मकवानपुर जिल्लामा २२ हजार ७ सय १३ , चितवनमा ३१ ह्जार ५ सय ७० , धादिङ जिल्लामा १३ हजार ९ सय ७३ किशोरीलाई खोप लगाईने भएको छ । त्यसैगरी , नुवाकोट जिल्लाका ११ हजार १ सय ७८ , रसुवा जिल्लामा १६ सय ८६ , काठमाण्डौं जिल्लामा १ लाख ११ हजार १ सय ४ जना किशोरीलाई खोप लगाईने निर्देशक झाले जानकारी दिए ।
यस्तै , ललितपुरका ३१ ह्जार ९ सय ८५ , भक्तपुर जिल्लामा १९ हजार २ सय ९५ , काभ्रेका १६ हजार १ सय १३ , सिन्धुपाल्चोकका १० हजार ४ सय ६८ , दोलखा जिल्लाका ६ हजार ५ सय २० , रामेछाप जिल्लाका ७ हजार ७८ र सिन्धुली जिल्लाका १४ हजार ६ सय २२ जना किशोरीलाई एचपीभी खोप लगाईने निर्देशक झाले बताए ।
उनका अनुसार खोप अभियान सन्चालन गर्नका निम्ति ८ हजार ७ सय ३६ स्वयमसेवक र ४ हजार ३ सय २४ जना कर्मचारी खटाएका छन् ।
४ हजार ५ सय ७९ वटा खोप केन्द्रबाट दिईने एचपीभी खोप ४ हजार ६ सय १५ वटा खोप सेसन सन्चालन गरेर दुई चरणमा यो अभिायन सन्चालन गर्ने निर्देशक झाले बताएका छन् ।
विद्यालय भित्र रहेका २ लाख ७५ हजार ७१ किशोरी र विद्यालय बाहिर रहेका २३ हजार २ सय ३४ जना किशोरीलाई खोप लगाइने छ । बागमती प्रदेशका १३ जिल्लामा सबैभन्दा बढी काठमाडौंमा १ लाख ८ हजार १ सय ४ र सबैभन्दा कम रसुवाका १ हजार ६ सय ८६ किशोरीले खोप लगाउँदैछन् ।
सरकारले विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) बाट प्रमाणित उक्त खोप १० देखि १४ वर्ष उमेर समुहका किशोरीलाई एचपीभीको संक्रमणबाट सुरक्षित हुन अभियान सञ्चालन गर्न लागिएको हो । स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार नेपालमा हरेक वर्ष २ हजार २ सय महिलालाई पाठेघरको मुखको क्यान्सर हुने गरेको छ । यसमध्ये १ हजार ३ सय महिलाको निधन हुने गरेको जनाइएको छ । खोप अभियान २२ माघदेखि ६ फागुनसम्म देशैभरी सन्चालन हुने छ ।
खोप अभियान सुभारम्भ कार्यक्रममा बागमती प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री सुरजचन्द्र लामिछाने, स्वास्थ्य मन्त्री किरण थापा, जिल्ला समन्वय समिति प्रमुख, हेटौंडा उपमहानगरपालिका प्रमुख लगायतको उपस्थिती थियो ।

















