हेटौंडा । हेटौंडा उपमहानगरपालिका १९ नम्बर वडालाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिने भएको छ । वडा कार्यालयले विभिन्न सूचक पूरा गरेसँगै आगामी मंसिर १४ गते शुक्रबार उक्त वडालाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गर्ने तयारी रहेको मंगलबार पत्रकार सम्मेलनमार्फत जानकारी दिएका छन् ।
‘बालबालिकामा लगानी, सुनिश्चित भविष्यको थालनी’ भन्ने मुल नाराका साथ वडालाई बालमैत्री वडा घोषणा गर्न लागिएको हेटौंडा १९ नम्बर वडाअध्यक्ष नरनाथ सुबेदीले जानकारी दिए ।
उनि स्थानीय शासनयुक्त वडा घोषणा मुल समारोह समितिका संयोजक समेत हुन् । उनले बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गर्नका लागि पूरा गर्नुपर्ने ५१ वटा सुुचकमध्ये ४४ वटा सूचकहरु शतप्रतिशत, एउटा सूचक ९८ प्रतिशत, तीन वटा सूचक ९५ प्रतिशत, एउटा ९० प्रतिशत, एउटा ८५ प्रतिशत र एउटा ८० प्रतिशतसम्म नतिजा हासिल भएको बताए ।
उक्त दिन स्थानीय सामुदायिक एवम् संस्थागत विद्यालयका विद्यार्थीहरु, विभिन्न टोलविकास संस्थाका सदस्यहरु, विभिन्न संघ–संस्थाको प्रतिनिधिहरुको सहभागितामा प्रभातफेरीसहित औपचारिक कार्यक्रम हुने उनले बताए । हालसम्म हेटौंडा उपमहानगरपालिकाको २, ४, ७, ८, ९, १०, ११, १५ र १७ गरी ९ वटा वडा बालमैत्री वडा घोषणा भएका छन् ।
















