हेटौँडा । प्रतिनिधिसभा निर्वाचन अन्तर्गत मकवानपुर जिल्लामा मङ्गलबार उम्मेदवारी दर्ता गरेका कुनै पनि उम्मेदवारका विरुद्ध उजुरी परेको छैन ।
आज दिउँसो ३ बजेसम्म उम्मेदवारविरुद्ध उजुरी दिन सकिने समयतालिका तोकिएको भएपनि उम्मेदवारविरुद्ध उजुरी नपरेको मुख्य निर्वाचन अधिकृतको कार्यालय मकवानपुरका मुख्य निर्वाचन अधिकृत गीता श्रेष्ठले जानकारी दिइन् ।
उनका अनुसार, प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ को निर्धारित निर्वाचन कार्यक्रम अनुसार मिति २०८२/१०/६ गते प्रतिनिधि सभा सदस्यको उम्मेदवार भइ मनोनयपत्र दर्ता गराएकाको उम्मेदवार उपर मिति २०८२/१०/ ७ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उजुरी दिन सकिने व्यवस्था भएपनि सो समय भित्र कुनै पनि उजुरी नपरेको हो ।
फागुन २१ को प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मकवानपुरका दुई निर्वाचन क्षेत्रबाट ४४ जनाले उम्मेदवारी दर्ता गराएका थिए । निर्वाचन क्षेत्र नम्बर–१ मा २३ जना र क्षेत्र नम्बर–२ मा २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् भने क्षेत्र नम्बर–१ बाट विभिन्न दलबाट १३ जना र १० जनाले स्वतन्त्र तथा क्षेत्र नम्बर–२ बाट विभिन्न दलबाट १६ जना र ५ जना स्वतन्त्र गरी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

















