हेटौँडा । हेटौँडा बजार क्षेत्रमा सडक सीमा चौडाइ विस्तार गर्ने काम तीव्र बनेसँगै शनिबार एकैदिन ५३१ घरटहरा तथा संरचना भत्काइएका छन् । सडक डिभिजन कार्यालय हेटौँडाले शनिबार बिहानैदेखि सडकको केन्द्रबाट दायाँ–बायाँ २५–२५ गजभित्रपर्रो संरचनामा डोजर चलाउँदै भग्नावशेष हटाउने कार्य सुरु गरेको हो ।
रातोमाटेदेखि मकवानपुर उद्योग वाणिज्य चोक हुँदै बुद्धचोक–जिल्ला प्रहरी कार्यालयतर्फको क्षेत्रमा पहिलो चरणमा डोजर सञ्चालन गरिएको थियो । बिहानभर नै व्यापक सुरक्षा व्यवस्थाबीच संरचना भत्काइएपछि बजार क्षेत्रमा विद्युत्, इन्टरनेट र टेलिफोन सेवा अवरुद्ध बनेको थियो । हेटौँडा बजार केहीबेर अस्तव्यस्त बनेको स्थानीयले बताएका छन् ।
सडक डिभिजन हेटौँडाका डिभिजन प्रमुख गुरुप्रसाद अधिकारीका अनुसार, अहिले ‘साङ्केतिक रूपमा’ सीमाभित्र परेका संरचना भत्काउने कार्य गरिएको छ, भने घरधनीलाई आफैँले घरायसी सामान हटाउन समय दिइने उल्लेख गरे । गत मंसिर ५ गते डिभिजनले १५ दिने सूचना जारी गरी संरचना हटाउन आग्रह गरेको थियो।

तर, शुक्रबार मात्र सर्वोच्च अदालतले सडक विस्तारसम्बन्धी सूचना कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको थियो । राष्ट्रिय स्वतन्त्र पार्टीकी नेतृ तथा पूर्व सांसद विन्दवासिनी कंसाकारले दायर गरेको उत्प्रेषण सम्बन्धी रिटमा न्यायाधीश मेघराज पोखरेलको एकल इजलाशले सूचना रोकी यथास्थिति कायम राख्न आदेश दिएको थियो ।
स्थानीयका अनुसार, आदेश देखाउने धेरै व्यक्तिका संरचना नछुने र केहीको भने भत्काइने गरी आदेश कार्यान्वयनमा विभेद भएको आरोप उठेको छ । सडक सीमाभित्र रहेको मकवानपुर उद्योग वाणिज्य संघको भवन पनि शनिबार नै डोजरले भत्काइएको छ ।

डिभिजनका अनुसार संघले तोकिएको समयमै संरचना नहटाएकाले बाध्य भएर भत्काउनुपरेको हो । सडक विस्तार अभियान जारी रहेको डिभिजन कार्यालयले जनाएको छ ।















