“समावेशी समाज निर्माण सबैको साझा जिम्मेवारी”

file-photo

हेटौँडा । बागमती प्रदेशका प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले समावेशी समाज निर्माणलाई सबैको साझा र महत्वपूर्ण जिम्मेवारी रहेको बताएका छन् । ३४ औँ अन्तर्राष्ट्रिय अपाङ्ग दिवसका अवसरमा जारी शुभकामना सन्देश जारी गर्दै उनले यस्तो बताएका हुन् ।

उनले फरक क्षमता भएका व्यक्तिहरूप्रति सम्मानजनक वातावरण बनाउनुपर्नेमा जोड दिए । प्रदेश प्रमुखले “अपाङ्गता समावेशी समाजको प्रवर्धनः सामाजिक उन्नतिको सम्बर्धन” नारालाई व्यवहारमा उतार्न राज्य, समाज र समुदाय तीनै तहले सक्रिय भूमिकामा उभिनुपर्ने विचार व्यक्त गरे ।

उनका अनुसार, समावेशीता केवल भाषा, संस्कृति वा परम्परामा सीमित विषय होइन, भिन्न क्षमताका व्यक्तिलाई विकास र परिवर्तनको यात्रामा साथ लिएर अगाडि बढ्ने प्रक्रियासँग प्रत्यक्ष सम्बन्धित छ ।

मानव अधिकार र मौलिक अधिकार प्रत्येक नागरिकका लागि समान रूपमा सुनिश्चित हुनुपर्ने उल्लेख गर्दै उनले सार्वजनिक सेवा प्रवाहलाई भिन्न क्षमतामुखी, सहज र पहुँचयोग्य बनाउन आवश्यक रहेको बताए ।

प्रदेश प्रमुख देवकोटाले शारीरिक, मानसिक वा बौद्धिक अपूर्णताका कारण व्यक्तिका अन्य क्षमता ओझेलमा पार्ने प्रवृत्ति हटाउनुपर्नेमा जोड दिँदै त्यसका लागि परिवार, समाज, सरकारी तथा गैरसरकारी संस्थाहरू सबै मिलेर परिणाममुखी कदम चाल्नुपर्ने आवश्यकता औँल्याए ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.