हेटौँडा । जेनजीहरूको आन्दोलन चर्किएपछि गत २४ भदौमा सामाजिक सञ्जालबाट राजीनामा घोषणा गरेका बागमती प्रदेशसभाका सभामुख भवनकुमार पाठकले राजीनामा पत्र बुझाएका छन् । उनले आज बुधबार उपसभामुख अप्सरा चापागाईंलाई राजीनामा पत्र बुझाएका हुन ।
उनले यसअघि नै राजीनामा घोषणा गरे पनि कानुनी प्रक्रिया पुरा गर्न अनुकुल नभएको पत्रमा भनिएको छ । ‘नेपालको संविधान र प्रदेश सभा नियमावली २०७४ बमोजिम बागमती प्रदेश सभाको सभामुख पदबाट राजीनामा गरेको छु,’ पत्रमा उल्लेख छ ।
उनले राष्ट रोएको बेला नेपाली जनताको चाहाना र युवा पुस्ताको भावना विपरीत पदमा बसिरहन अनुचित लागेको बताए । गत २४ भदौमा राप्रपाबाट निर्वाचित प्रतिनिधिसभा र प्रदेशसभा सदस्यहरूले सामूहिक राजीनामा दिने भएपछि पाठकले पनि सभामुख पदबाट राजीनामा दिएको सामाजिक सञ्जाल फेसबुकमार्फत घोषणा गरेका थिए ।
पाठक राप्रपाबाट बागमतीको सभामुख बनेका थिए ।















