हेटौँडा । बागमती प्रदेशका वन तथा वातावरण मन्त्री भरतबहादुर केसीले आफ्नो ३७ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन् । गत साउन २० गते वन तथा वातावरण मन्त्रीमा नियुक्त भएका केसीले पदभार ग्रहण गरेपछि पहिलो पटक विस्तृत रुपमा ३७ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक गरेका हुन् ।
बिहीबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्री केसीले वन डढेलो नियन्त्रणदेखि रातो बाँदर व्यवस्थापनसम्मको ३७ बुँद्धे प्रतिबद्धता पत्र सार्वजनिक गरेका हुन् । उनले सार्वजनिक गरेको प्रतिबद्धता पत्रमा वन डढेलो नियन्त्रणका लागि अग्नि रेखा निर्माणदेखि स्वदेशी काठको प्रयोगलाई अनिवार्य गर्ने व्यवस्था सम्मका विषय समेटिएका छन् ।
मन्त्री केसीले प्रतिबद्धता पत्रमार्फत् एकीकृत जलाधार व्यवस्थापन, जैविक विविधताको संरक्षण, पारदर्शी, जनमुखी र सम्मानजनक सेवा प्रवाहमार्फत समृद्ध प्रदेश निर्माण गर्ने स्पष्ट योजना अघि सारेका छन् ।
मन्त्री केसीले दुर्लभ, लोपोन्मुख र संरक्षित वनस्पतिको संरक्षण, संरक्षित वन क्षेत्रको समुदायमैत्री व्यवस्थापन र वन क्षेत्रमा हुने यौनजन्य हिंसा तथा सामाजिक विभेदमा शून्य सहनशीलता नीति लागू गर्ने, प्रदेशका सबै जिल्लामा जिल्ला वन पैदावार आपूर्ति समिति गठन गरी स्वदेशी काठको प्रयोगलाई प्राथमिकता दिने, विगतमा सुरु गरिएको ‘छोरोल्पा संवाद’ लाई निरन्तरता दिने योजना पनि साझा गर्ने र बाढी, पहिरो, भूकम्पजस्ता प्राकृतिक प्रकोपबाट जनधनको क्षति न्यूनिकरण गर्न पूर्वसूचना प्रणाली जडान गर्ने कामको थालनी गरिने बताए ।
उनले योजनामा भू तथा जलाधार व्यवस्थापनमा स्थानीय स्रोतको प्रयोग, कम खर्चिलो प्रविधि र बायो इन्जिनियरिङ प्रणालीलाई प्राथमिकता दिने, कृषिमा हानिकारक वन्यजन्तु नियन्त्रणका लागि नेपाल सरकारले घोषणा गरेको रातो बाँदर लगायतका वन्यजन्तुको व्यवस्थापनका उपाय खोज्न कार्यदल गठन गरिने प्रतिबद्धता पनि पत्रमा समावेश गरिएको छ ।















