झाडापखाला र हैजाको जोखिम: हेटौँडा खानेपानी बोर्डको सतर्कता अपिल

हेटौँडा । हाल देशका विभिन्न स्थानमा झाडापखाला तथा हैजा फैलिरहेको अवस्थामा मकवानपुर जिल्लामा पनि रोग फैलन सक्ने जोखिम बढेको भन्दै हेटौँडा खानेपानी व्यवस्थापन बोर्डले उपभोक्तालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । बोर्डले आइतबार सूचना जारी गर्दै सो आग्रह गरेको हो ।

बोर्डका प्रमुख प्रशासकीय अधिकृत विष्णु प्रसाद सापकोटाले हस्ताक्षर गरेको सूचनामा, “हालै विभिन्न स्थानमा देखिएको झाडापखाला र हैजाको प्रकोपलाई ध्यानमा राखी मकवानपुरमा पनि सतर्कता आवश्यक छ । सुरक्षित पानी प्रयोग र सरसफाइमा ध्यान दिएमा रोग फैलन सक्ने जोखिमलाई धेरै हदसम्म कम गर्न सकिन्छ,” उल्लेख छ ।

बोर्डले पिउने पानी अनिवार्य रूपमा उमालेर वा क्लोरिन प्रयोग गरेर मात्र सेवन गर्नुपर्ने, घर वरपरको सरसफाइमा ध्यान दिनुपर्ने, खाना राम्ररी पकाएर मात्र खानुपर्ने र काँचो तरकारी तथा फलफूललाई शुद्ध पानीले धुने सुझाव दिइएको छ । साथै, पाइप फुटेर पानी चुहिएको वा प्रदूषित भएको खण्डमा तुरुन्तै सम्बन्धित कार्यालयलाई जानकारी गराउन पनि अनुरोध गरिएको छ ।

हाल वीरगञ्ज लगायतका स्थानमा झाडापखालाको प्रकोप फैलिसकेको छ भने मकवानपुरमा पनि यस्तै अवस्था दोहोरिन सक्ने सम्भावना रहेकाले बोर्डले उपभोक्ताहरूलाई सचेत रहन आह्वान गरेको हो।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.