हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले पदबाट राजीनामा दिएका छन्। २०७९ साउन ९ गते शपथ लिएर सरकारको नेतृत्व सम्हालेका मुख्यमन्त्री लामाले आइतबार राजिनामा दिएका हुन् ।
करिब एक वर्ष नौ दिनको कार्यकालपछि उनले पत्रकार सम्मेलनमार्फत राजीनामाको घोषणा गरे । उनले प्रदेश सरकारको नेतृत्व सम्हाल्दा बागमती प्रदेशमा पहिलो पटक तामाङ समुदायबाट मुख्यमन्त्री बन्ने ऐतिहासिक अवसर प्राप्त गरेका थिए। उनले आफ्नो राजीनामा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निर्देशनमा दिएको स्पष्ट पारेका छन्।
उनले कार्यकालभरि भएका प्रगतिहरूको संक्षिप्त विवरण प्रस्तुत गर्दै आफूले इमान्दारितापूर्वक काम गरेको दाबी गरे। यद्यपि, उनले दलभित्रको आन्तरिक षड्यन्त्र र राजनीतिक प्रपञ्चले सरकार छाड्नुपर्ने अवस्था आएको आरोप लगाए।
“म यो घटनाक्रमबाट भाग्ने होइन,” लामाले पत्रकार सम्मेलनमा भने, “तर पछिल्लो घटनाक्रमले लोकतान्त्रिक मूल्य, मान्यता र गणतान्त्रिक व्यवस्थामाथि गम्भीर चुनौती दिएको छ।”
संविधानतः आफ्नो पदमा निरन्तरता रहने अवस्था भए पनि लोकतान्त्रिक विधि, पद्धति र मूल्यको रक्षा गर्न नेतृत्वले देखाएको मार्गअनुसार आफूले पद त्याग गर्ने निर्णय लिएको उनले बताएका छन्।

















