हेटौंडा । बागमती प्रदेश सरकारमा उत्पन्न राजनीतिक विवादका बीच मन्त्रीहरूले एकपछि अर्को गर्दै पद त्याग गर्न थालेका छन् । मंगलबार प्रदेश सरकारका खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्री श्यामबहादुर खड्काले पदबाट राजीनामा दिएका छन् ।
नेपाली कांग्रेसबाट मन्त्री बनेका खड्काले मुख्यमन्त्री बहादुर सिंह लामा तामाङलाई राजीनामा पत्र बुझाएका हुन् । राजीनामा पत्रमा खड्काले विविध कारणले गर्दा आफ्नो जिम्मेवारी बहन गर्न नसक्ने अवस्था सिर्जना भएकाले पद त्याग गरेको उल्लेख गरेका छन् ।
यसअघि गत शुक्रबार मुख्यमन्त्री लामाविरुद्ध नेपाली कांग्रेस संसदीय दलमा अविश्वासको प्रस्ताव दर्ता गरिएको थियो । सो प्रस्तावमा कांग्रेसबाट नियुक्त भएका चार जना मन्त्रीहरूको पनि हस्ताक्षर थियो । अविश्वासको प्रस्ताव दर्तापछि आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछाने, संस्कृति तथा पर्यटन मन्त्री विमल ठकुरी, सहकारी तथा गरिबी निवारण मन्त्री मदुकुमार श्रेष्ठ र युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जनलाई मुख्यमन्त्री लामाले पदमुक्त गरिसकेका छन् ।
अब सिँचाइ मन्त्री श्यामबहादुर खड्काले पनि स्वेच्छाले पद त्याग गरेसँगै प्रदेश सरकारमा कांग्रेसको असन्तुष्टि झनै चुलिएको छ । एक वर्षअघि कांग्रेसका लामा नेतृत्वमा नेकपा एमालेसहितको गठबन्धन सरकारले बागमती प्रदेशको सत्ता सम्हालेको थियो । तर, पछिल्लो समय पार्टीभित्रको गुटबन्दी र असहमति गहिरिँदै जाँदा सरकारको नेतृत्व संकटमा परेको देखिन्छ ।
प्रदेश सरकारको स्थायित्वमा प्रश्न उठिरहेका बेला मन्त्रीहरूले यसरी एकपछि अर्को गर्दै पद त्याग गर्न थालेको घटनालाई विश्लेषकहरूले गम्भीर संकेतका रूपमा हेरिरहेका छन् ।

















