हेटौँडा । मकवानपुर प्रहरीले छुट्टाछुट्टै स्थानबाट दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले एक जना उद्योगबाट करोडौं मूल्य बराबरको सामग्री चोरी गरेको आरोपमा र अर्का व्यक्तिलाई लागूऔषध गाँजासहित पक्राउ गरेको मकवानपुरका प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।
उनका अनुसार, हेटौँडा–८ स्थित औद्योगिक क्षेत्रभित्र रहेको एक रबर उद्योगबाट गत जेठ २७ गते बाल्टिन तथा ग्यालिन उत्पादनमा प्रयोग हुने मेसिनरी औजार र सेन्सर गरी करीब २० देखि २२ लाख रुपैयाँ बराबरको सामग्री चोरी भएको थियो । उक्त घटनामा उद्योगमै प्लान्ट ईञ्चार्ज तथा स्टोर्स किपरको रूपमा कार्यरत रुपन्देही सिद्धार्थनगर नगरपालिका–१३ निवासी ४९ वर्षीय पुष्पारंजन दत्त संलग्न रहेको सिसिटिभी फुटेजबाट खुलेको थियो।
चोरीपछि फरार रहेका दत्तलाई मकवानपुर प्रहरीले चितवन प्रहरीसँगको समन्वयमा साउन ७ गते चितवनको भरतपुर–४ लंकुबाट नियन्त्रणमा लिएको प्रहरी नायव उपरीक्षक अर्यालले बताए । हाल उनीमाथि चोरी तथा डाँका सम्बन्धी कसुरमा जिल्ला अदालत मकवानपुरबाट म्याद थप गराई अनुसन्धान भइरहेको जनाइएको छ।
यस्तै, साउन ८ गते हेटौँडा–१५ स्थित प्रहरी चौकी रातोमाटेबाट खटिएको टोलीले नारायणगढबाट विराटनगरतर्फ जाँदै गरेको यात्रुबाहक बस प्र.१–०१–००१ ख ३६७३ मा चेकजाँच गर्ने क्रममा ५ किलो लागूऔषध गाँजासहि त एक जनालाई नियन्त्रणमा लिएको छ ।
उक्त परिमाणको गाँजासहित सुनसरीको ईनरुवा नगरपालिका–७ निवासी तथा हाल विराटनगर–६ बसोबास गर्ने १८ वर्षीय आश नारायण चौधरीलाई नियन्त्रणमा लिएको प्रहरी नायव उपरीक्षक अर्यालले बताए । पक्राउ परेका उनीमाथि लागूऔषध कसुरमा जिल्ला अदालत मकवानपुरबाट म्याद अनुमति लिई थप अनुसन्धान गरिरहेको जनाइएको छ ।

















