मकवानपुर । भूमि समस्या समाधान आयोग मकवानपुरको आयोजना बिहीबार भीमफेदीमा एक दिने अभिमुखीकरण तथा अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रम भीमफेदी गाउापालिकाको कार्यालयमा आयोजना गरिएको हो ।
कार्यक्रम भीमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामाको सभाध्यक्षता एवम् भूमि समस्या समाधान आयोग मकवानपुरका अध्यक्ष बलराम बलको प्रमुख आतिथ्यतामा भएको हो ।
सो क्रममा बोल्दै आयोगका अध्यक्ष बलराम बलले गाउँपालिकाका भूमिहिन दलित र भूमिहिन सुकुम्बासीलाई पहिलो प्राथमिकतामा राखेर पहिचान र प्रमाणीकरण भइसकेको फाइलहरु आयोगको कार्यालयमा पठाएको ४०–५० दिनसम्ममा लालपूर्जा वितरण गर्ने वातावरण बनाउने प्रतिबद्धता व्यक्त गरे ।
यस्तै, पालिका अध्यक्ष लामाले भूमिहिन दलित र सुकुम्बासीको पहिचान र प्रमाणीकरण गरी ९ वटै वडाबाट प्राप्त फाइलहरु कम्प्युटरमा प्रबिष्ष्ट गर्ने कार्य भइरहेको जानकारी दिए ।
भीमफेदी गाउँपालिकाका उपाध्यक्ष सञ्जिव श्रेष्ठले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रममा आयोग मकवानपुरका सदस्य कविन सांगामीले भीमफेदीका ९ वटै वडाबाट प्रमाणीकरण गरिएका फाइलहरुमा भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित गरी बाह्र सय परिवारको पहिचान भइसकेको बताए ।
कार्यक्रममा आयोगकी महिला सदस्य डिलमाया घर्ती, आयोग विज्ञ सदस्य अर्जुनप्रसाद चौलागाईं, मालपोत कार्यालय मकवानपुरका प्रमुख रघुवंश कँडेल, नापी कार्यालय मकवानपुरका प्रमुख खीमबहादुर राना, ९ वटै वडाका अध्यक्ष, पालिकामा क्रियाशील राजनीतिक दलका प्रमुख एवम् प्रतिनिधिहरू तथा स्थानीयवासीहरूको सहभागिता रहेको थियो ।
यससँगै मकवानपुरको सबै स्थानीय तहमा भूमि समस्या समाधान आयोग पुगेको छ । भूमी समस्या समाधान आयोग मकवानपुरले आफ्नो अभियानलाई निरन्तरता दिइने क्रममा जिल्लाको सबै स्थानीय तहमा पुर्याएको हो ।
आयोगले यसअघि हेटौंडा उपमहानगरपालिका, थाहा नगरपालिका, बागमती गाउँपालिका, राक्सिराङ गाउँपालिका, इन्द्रसरोबर गाउँपालिका, मनहरी गाउँपालिका, बकैया गाउँपालिका, कैलाश र मकवानपुरगढी गाउँपालिकामा अन्तरक्रिया कार्यक्रमको आयोजना गरिसकेको छ ।














