एमाले मकवानपुरद्वारा जागरणसभाको आयोजना

मकवानपुर । नेकपा एमाले मकवानपुरले सोमबार हेटौंडामा जागरणसभाको आयोजना गरेको छ । एमाले मकवानपुरले लोकतान्त्रिक गणतन्त्रको संरक्षण र सम्वद्र्धनका लागि भन्दै जागरणसभाको आयोजना गरेको हो ।

जिल्लाका १० वटै पालिकाबाट नेता, कार्यकर्ता हेटौंडामा उतार्दै गणतन्त्रको पक्षमा जागरण सभा गरेको हो । हेटौंडाका मुख्य सडक सानोपोखरा चोक, फरेष्टी चोक, राप्ती रोड र चौकीटोलको चारवटा नाकाबाट जम्मा भएका नेता तथा कार्यकर्ताको ¥याली सिमाचोकमा पुगेर सभामा परिणत भएको थियो ।

सभालाई सम्बोधन गर्दै नेकपा एमालेका केन्द्रीय सदस्य एवम् मकवानपुर इन्चार्ज रामेश्वर रानाले लोकतान्त्रिक गणतन्त्र जनताको रगतसँग साटिएर शहिदहरुको बलिदानबाट स्थापना भएको बताए । समृद्ध नेपाल र सुखी नेपाली बनाउने अभियानमा संविधानको रक्षा र संघीय लोकतान्त्रिक गणतन्त्रको जगेर्नाको निम्ति एकजुट भएर अगाडि बढ्नुपर्ने समय आएको उनको भनाई थियो ।

‘लोकतन्त्रले हाम्रो सार्वभौमिक हक अधिकारलाई सुरक्षित गरेको छ । हामीले सामन्ती पुस्ताको अन्त्य गरेर जनताको सार्वभभौम अधिकारलाई जनताको पक्षमा ल्याएका छौं’, उनले भने, ‘आज जनता सार्वभौम भइरहेको अवस्थामा फेरि पनि नागरिकमाथि षड्यन्त्र भैरहेको छ । त्यसैले म सबैलाई खबरदारीका निम्ति एकजुट भएर अघि बढ्न आग्रह गर्दछु ।’ राजतन्त्रको समयमा जनतालाई रैतीको रुपमा प्रयोग गरेको भन्दै रानाले जनतालाई रैती बनाउने सामन्ती इतिहास अब मुुलुकमा फेरि फर्कन सम्भव नभएको दावी गरे ।

सभामा बागमती प्रदेशका पूर्व मुख्यमन्त्री डोरमणि पौडेलले ४६ सालको आन्दोलनदेखि २०६२÷०६३ को आन्दोलनमा पुग्दा विपक्षीहरुलाई परास्त गरिएको स्मरण गरे । उनले राजतन्त्रप्रति इङ्गित गर्दै मसानघाटमा पु¥याइसकेको लास उठेर टाउको ठड्याउँदै गरेको भन्दै खवरदारी गरे । हजारौं जनताको योगदान र शहिदहरुको बलिदानबाट प्राप्त गरेको लोकतान्त्रिक गणतन्त्रलाई समाप्त गरेर फेरि निरकुंश राजतन्त्र ल्याउने सपना नदेख्न उनले चेतावानी समेत दिए । पौडेलले संविधानले राजा नचिन्ने भन्दै राजा यो मुलुकमा नभएकोले तत्कालीन राजा ज्ञानेन्द्र अब राजा नरहेको बताए । लोकतान्त्रिक गणतन्त्र आइसकेपनि नेपालमा सामाजिक र आर्थिक परिवर्तन भएको दावी गर्दै उनले प्रजान्त्रको विकल्प राजतन्त्र हुनै नसक्ने ठोकुवा गरे ।

नेकपा एमाले मकवानपुर अध्यक्ष श्रीधर पोखरेलले गणतन्त्रको संरक्षण र सम्बद्र्धन तथा राष्ट्रिय स्वाधिनताको संरक्षणका लागि एमाले मकवानपुरले जागरणसभा आयोजना गरेको बताए । जागरणसभा प्रतिगामी षड्यन्त्रका विरुद्ध, पुनरुत्थानवादी र अराजक तत्वहरुलाई सन्देशको रुपमा रहेको बताए ।

सभामा नेकपा एमालेका केन्द्रीय सदस्य भारती पाठक, प्रदेश कमिटी सदस्य एवम् प्रदेश सभा सदस्य एकलाल श्रेष्ठलगयात नेता कार्यकर्ताको उपस्थिती रहेको थियो ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.