नेपाली कांग्रेस बागमती प्रदेश सभापति ईन्द्रबहादुर बानियाँले यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा कांग्रेसका उम्मेदवारले प्रत्येक वडाबाट बढी भोट ल्याए मात्रै आगामी स्थानीय तहको निर्वाचनमा वडा र पालिका जित्न सकिने बताएका छन् ।
नेपाली कांग्रेस हेटौंडा ४ नम्बर वडा समितिले शनिबार हेटौंडामा आयोजना गरेको वडा भेलालाई सम्बोधन गर्दै उनले अहिले प्रतिनिधिसभा सदस्यका उम्मेदवारलाई जिताउने र पछि वडा तथा पालिका समेत जित्ने गरी लाग्न नेता कार्यकर्ताहरुलाई निर्देशन दिए ।
क्षेत्र नम्बर १ का उम्मेदवार डिना उपाध्यायले जितेमा अब बन्ने सरकारमा महत्वपूर्ण मन्त्रालय पाउने निश्चित भएको उनको भनाई थियो । उनले निर्वाचनका लागि आ–आफ्नै वडामा खटिन समेत नेता कार्यकर्ताहरुलाई निर्देशन दिए ।
यस्तै, सो क्रममा बोल्दै नेपाली कांग्रेसको तर्फबाट मकवानपुर क्षेत्र नम्बर १ का उम्मेदवार महालक्ष्मी उपाध्याय डिनाले जनताबाट अनुमोदन भएर जनताकै हितमा काम गर्ने प्रतिज्ञा गरेकी छिन् । उनले सांसद् बन्नकै लागि मात्र निर्वाचनमा भाग लिन नआएको बताएकी हुन् ।
निर्वाचन हार्दा पनि जिल्लाको विकास र जनताका चाहना पूरा गर्नका लागि निरन्तर लागिपरेको भन्दै उनले एकपटक जिताएर सेवा गर्ने मौका दिन अनुरोध गरिन् । उनले कांग्रेसलाई जिताउन सबै नेता कार्यकर्ता मतदाताकोमा पुग्नका लागि अनुरोध समेत गरिन् ।
कांग्रेस हेटौंडा ४ नम्बर वडा सभापति हरि पौडेलकोे अध्यक्षतमा भएको कार्यक्रममा कांग्रेसका नेतृ एवम् केन्द्रीय निर्वाचन परिचालन समिति सदस्य रिता खनाल, मकवानपुर क्षेत्र नम्बर १ का सभापति दामोदर खनाल, बागमती प्रदेश सदस्य प्रदीप कोइराला, कांग्रेस ४ नम्बर वडा सचिव रमेश मुडवरीलगायतले बद्लिएको कांग्रेसले अब पहिलो दल हुँदै मुलुक समेत बदल्ने धारणा राखे । कार्यक्रममा कांग्रेसको तर्फबाट समानुपातिक तर्फका उम्मेदवार सर्मिला श्रेष्ठ, पवित्रा विश्वकर्मासहितका नेताहरुको आतिथ्यता रहेको थियो ।

















