हेटौंडा । किराँत समुदायको महान् पर्व उधौली–उभौली, नेवार समुदायले मनाउने यःमरी पुनिँ तथा विभिन्न समुदायका सांस्कृतिक पर्वको अवसरमा बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले शुभकामना व्यक्त गरेका छन् ।
मुख्यमन्त्री बानियाँले एक शुभकामना सन्देश जारी गर्दै नेपाल अनेकौँ जातजाति, भाषा, संस्कृति र परम्पराले भरिएको सुन्दर देश भएकाले यस्ता पर्व–उत्सवले सामाजिक एकता, सद्भाव र साझा पहिचान मजबुत बनाउन मद्दत गर्ने उल्लेख गरेका छन् ।
उनका अनुसार, उधौली पर्वले प्रकृति, कृषि, मानव सभ्यता र सांस्कृतिक परम्पराबीचको सम्बन्धलाई झनै गहिरो बनाउँछ भने यःमरी पुनिँ नेवार समुदायको मौलिक पहिचान तथा सांस्कृतिक धरोहरको संरक्षणमा महत्वपूर्ण छ । पर्व–उत्सवले समुदायभित्र एकता, भाईचारा र सकारात्मक ऊर्जा सञ्चार हुने उनको भनाइ छ ।
मुख्यमन्त्री बानियाँले बागमती प्रदेशमा बसोबास गर्ने सबै समुदायले आफ्नो संस्कृति जोगाउँदै प्रदेशको सामाजिक र सांस्कृतिक पहिचान बलियो बनाइरहेको उल्लेख गर्दै प्रदेश सरकार पनि सांस्कृतिक संरक्षण, प्रवद्र्धन र विकासका लागि निरन्तर सहयोगमा रहने प्रतिबद्धता जनाएका छन् ।
उनले सबैलाई राष्ट्रिय एकता, लोकतान्त्रिक मूल्य र सामाजिक सद्भावका साथ अघि बढ्ने प्रेरणा मिलोस् भन्दै उधौली–उभौली, यःमरी पुनिँ तथा अन्य पर्वको अवसरमा हार्दिक शुभकामना व्यक्त गरेका छन्।















