हेटौँडा । नेकपा माओवादी केन्द्र बागमती प्रदेश संसदीय दलले प्रदेशमा मन्त्रालयको संख्या घटाउने निर्णय गरेको छ । माओवादी बागमतीको बुधबार बसेको बैठकले समसामयिक राजनीतिक परिस्थितिको समीक्षा गर्दै उक्त निर्णय गरेको माओवादी केन्द्र बागमती प्रदेश संसदीय दलका प्रमुख सचेतक रत्नप्रसाद ढकालले जानकारी दिए ।
उनका अनुसार, बैठकले प्रदेशका मन्त्रालयहरूको संख्या घटाएर प्रशासनिक खर्च कटौती गर्न पुनः माग गर्ने निर्णय गरेको हो । प्रदेश सरकारको प्रशासनिक खर्चमा मितव्ययिता अपनाउन र सेवा प्रवाहलाई चुस्त बनाउन मन्त्रालयको संख्या घटाउनुपर्ने आफ्नो पुरानो अडानलाई पुनः दोहोर्याइएको हो ।
यस्तै, बैठकले प्रदेश सरकारका काम कारबाहीमा सशक्त र रचनात्मक भूमिका खेल्ने, नागरिकको जनजीविकाका सवालमा सरकारलाई निरन्तर खबरदारी गर्ने र रचनात्मक प्रतिपक्षको भूमिकालाई थप प्रभावकारी बनाउने रणनीति तय गरेको उनले बताए ।
बैठकले प्रदेश सरकारको चालु आर्थिक वर्षमा पूरक बजेट ल्याउने सरकारको कदमको विपक्षमा रहने र प्रदेशसभाको रिक्त रहेको सभामुख पदमा सशक्त दाबी प्रस्तुत गर्ने पनि निर्णय गरेको प्राुख सचेतक ढकालले बताए ।















