हेटौँडा । बागमती प्रदेशको विभिन्न क्षेत्रमा आएको बाढीपहिरो तथा प्राकृतिक विपत्तिबाट पीडित भएकाहरुका राहत र पुनःस्थापनामा सक्रियता बढाउन नेपाली कांग्रेस बागमतीले सरकारलाई आग्रह गरेको छ ।
निरन्तर वर्षाका कारण आएको बाढीपहिरो तथा प्राकृतिक विपत्तिबाट बागमती प्रदेशका विभिन्न स्थानमा जनधनको ठूलो क्षति पुगेको घटनाप्रति दुःख व्यक्त गर्दै प्रभावकारी राहत तथा उद्धारमा सरकारलाई सक्रिय र तिव्र कार्यान्वयन गर्न आग्रह गरेको गरिएको हो ।
कांग्रेस बागमती प्रदेशका सभापति ईन्द्रबहादुर बानियाँले हस्ताक्षर गरेको विज्ञप्तिमा हालको विपद् व्यवस्थापनका लागि तीन तहका सरकारबीच प्रभावकारी समन्वय आवश्यक रहेको उल्लेख गरिएको छ । बाढीले सबैभन्दा ठूलो असर रसुवा जिल्लामा पारेको बताउँदै कांग्रेसले १६ जनाको ज्यान गइसकेको, नेपाल–चीन जोड्ने पुल बगाएको, ७ वटा गाडी बगेको, १११ मेगावाट क्षमताको जलविद्युत् आयोजना बन्द भएको, र २ सय २३ केभी प्रसारण लाइन अवरुद्ध भएको जानकारी दिएको छ ।
कांग्रेसले स्थानीय, प्रदेश तथा संघीय सरकारलाई प्रभावित क्षेत्रको यथाशक्य छिटो पुनःनिर्माण, उद्धार, राहत, अस्थायी बासस्थान, स्वास्थ्य सेवा, खाद्यान्न तथा सरसफाइमा प्राथमिकता दिन अनुरोध गरेको छ ।
पत्रमा कांग्रेसका सम्पूर्ण भातृ संगठन, जिल्ला तथा स्थानीय तहका नेता तथा कार्यकर्ताहरूलाई सक्रिय भई प्रभावित क्षेत्रमा सहयोग गर्न अपील गरिएको छ। साथै, विस्थापित नागरिकलाई तत्काल राहत, पुनःस्थापनाको सुनिश्चितता, र दीर्घकालीन संरचनात्मक उपायको योजनासहित सरकारलाई सुझाव समेत दिइएको छ ।
विज्ञप्तिमा मृतकप्रति श्रद्धाञ्जली र शोक सन्तप्त परिवारप्रति समवेदना प्रकट गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ ।

















