मकवानपुर । मकवानपुर प्रहरीले लागूऔषध नियन्त्रण अभियानअन्तर्गत एक युवकलाई पक्राउ गरेको छ।
सोमबार साँझ करिब ५:०० बजे हेटौंडा उपमहानगरपालिका-१५ स्थित रातोमाटे चेकपोइन्टमा नियमित सवारी तथा व्यक्तिको चेकजाँच गर्ने क्रममा प्रहरीले लागूऔषधसहित एक जनालाई नियन्त्रणमा लिएको हो।
प्रहरी चौकी रातोमाटेबाट खटिएको टोलीले वीरगञ्जबाट हेटौंडातर्फ आउँदै गरेको म.प्र.०३–००१ ज ०५९३ नम्बरको यात्रुवाहक विद्युतीय (EV) गाडी जाँच गर्ने क्रममा शङ्काको आधारमा सवार यात्रुको खानतलासी गरेको थियो।
खानतलासीका क्रममा मकवानपुरको मनहरी गाउँपालिका-७ निवासी अन्दाजी २३ वर्षीय सुमन गोङ्बाको साथबाट प्रतिबन्धित लागूऔषध खैरो हेरोइनजस्तो देखिने पदार्थ १ ग्राम ५२० मिलिग्राम बरामद भएको जिल्ला प्रहरी मकवानपुरले जनाएको छ।
बरामद लागूऔषधसहित गोङ्बालाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान कार्य भइरहेको छ।














