हेटौंडामा चोरीमा संलग्न एक युवक पक्राउ, नगद तथा गरगहना बरामद

मकवानपुर । हेटौंडा उपमहानगरपालिका–७ क्याम्पडाँडा क्षेत्रमा भएको चोरी घटनामा संलग्न एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

सनगुड कोलोनी बस्ने कृष्णप्रसाद गौतमको घरमा कोही नभएको मौका छोपी चोरी भएको सूचना प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थलमा खटिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।

प्रारम्भिक अनुसन्धानका क्रममा घरको पूर्वतर्फको ढोका फुटाई अन्दाजी १ तोला सुन, २५.५ तोला चाँदी (१५ वटा सिक्का) तथा नगद रु. ४ लाख चोरी भएको खुलेको थियो। घटनाको अनुसन्धान गर्दै जाँदा जिल्ला रामेछाप हिमागंगा गाउँपालिका–४ स्थायी घर भई हाल हेटौंडा–१५ फारलाइन बस्दै आएका करिब २५ वर्षीय मनोज पुलामी मगरको कोठा पहिचान गरी प्रहरीले नियन्त्रणमा लिएको हो।

खानतलासीका क्रममा उनको कोठाबाट चाँदीका सिक्का, विभिन्न गरगहना, सुनजस्तो देखिने पहेँलो धातुका सामानहरू तथा नगद समेत बरामद गरिएको प्रहरीले जनाएको छ। सोधपुछका क्रममा उक्त युवक जेन्जी आन्दोलनका बेला भिमफेदी कारागारबाट फरार भएको समेत खुलेको छ। हाल उनलाई बरामद सामानसहित आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय मकवानपुरमा राखिएको छ ।

प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ । यसैबीच प्रहरीले सर्वसाधारणलाई घरमा धेरै नगद तथा गरगहना नराख्न, घर छोड्दा छिमेकी वा आफन्तको सहयोग लिन तथा सुरक्षाका लागि सीसीटीभी जडान गर्न आग्रह गरेको छ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.