मकवानपुर । मकवानपुरको कैलाश गाउँपालिकामा रहेका विद्यालयमा कार्यरत आईटी फोकल शिक्षकलाई ५ दिने सूचना तथा सञ्चार प्रविधि सम्बन्धी तालिम प्रदान गरिएको छ । वडा ९ मा अवस्थित कालिका माविमा सञ्चालित तालिम वडाध्यक्ष भूवन सिं घलानको अध्यक्षता तथा गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तानको प्रमुख आतिथ्यतामा मंगलबार तालिम समापन भएको थियो ।
सहभागीलाई प्रमाण पत्र प्रदान गर्दै अध्यक्ष मुक्तानले आजको युग प्रविधिको युग हो । शिक्षण–सिकाइ प्रक्रियालाई प्रभावकारी, गुणस्तरीय र विद्यार्थीमैत्री बनाउन सूचना तथा सञ्चार प्रविधिको महत्वपूर्ण भूमिका रहने बताए । तालिमबाट प्राप्त ज्ञान, सीप र अनुभवलाई शिक्षकहरूले आफ्नो दैनिक कक्षाकोठा शिक्षणमा प्रयोग गर्नुहुन आग्रह गरेका छन् ।
तालिम केवल प्रमाणपत्र प्राप्त गर्ने माध्यम नभई सिकेका कुरालाई व्यवहारमा उतार्ने अवसर हो । यहाँहरूले सिकेका प्रविधिमैत्री शिक्षण विधि, डिजिटल सामग्रीको प्रयोग तथा नवीन अभ्यासहरूले विद्यालय शिक्षामा सकारात्मक परिवर्तन ल्याउनु हुनेछ भन्ने विश्वास लिएको बताए ।
कैलाशमा स्थायी शिक्षक थोरै र करार राहतका शिक्षकहरु बढी रहेको अवस्थामा पनि शिक्षामा विस्तारै वृद्धि विकास भइरहेको उनले बताए । विकटताले पनि अन्य क्षेत्रको जस्तो शिक्षामा प्रतिस्पर्धा गर्न नसक्ने बताउँदै गाउँपालिकाको आन्तरिक स्रोत कम हुँदा पनि विद्यालय क्षेत्रमा विभिन्न कार्यक्रमहरु गर्दै आइरहेको बताए ।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष बालकुमार मल्लले शिक्षकहरुले प्रविधिलाई भरपुर प्रयोग गर्नुपर्ने बताए । तालिमले अध्यापनसँगै विद्यालयमा हुने सिस्टमलाई प्रविधिमा जोडेर राख्न सहजता पुग्नुका साथै विद्यालयको प्रशासनिक र अध्यापनमा पनि सहज वातावरण पुग्ने बताए । उनले शिक्षक राष्ट्रका मार्गदर्शक हुन्, यहाँहरूले सिकेका नयाँ प्रविधि, डिजिटल सामग्री तथा आधुनिक शिक्षण विधिहरूलाई कक्षाकोठामा व्यवहारिक रूपमा प्रयोग गर्न सक्नुभयो भने विद्यार्थीहरूको सिकाइ उपलब्धिमा उल्लेखनीय सुधार आउने बताए ।
कार्यक्रममा शिक्षा शाखा प्रमुख समीर जोशी, आर्एटी विज्ञ प्रकाश पाठक, कालिका माविका प्रअ रामप्रसाद कालाखेती, तालिम पश्चातको अनुभव कोथलिटार आविका प्रअ सीताराम श्रेष्ठलगायतले आफ्नो भनाई राखेका थिए ।
गाउँपालिकामा रहेका आधारभूत र माध्यामिक विद्यालयका ३९ जना आईटी फोकल शिक्षकहरुको सहभागिता रहेको शिक्षा शाखा प्रमुख समीर जोशीले बताए । विद्यालय सञ्चालन र व्यवस्थापन गर्न प्रयोग गरिने इमिस सफ्टवयरका साथै सूचना तथा सञ्चार प्रविधि सम्बन्धी तालिम प्रदान गरिएको जोशीले बताए ।















