गर्मी बढेसँगै मकवानपुरमा विद्युत कटौती, सर्वसाधारण मारमा

हेटौंडा । गर्मी बढेसँगै मकवानपुरमा पछिल्ला केही दिनयता विद्युत आपूर्तिमा समस्या देखिन थालेको छ । जिल्लाका विभिन्न क्षेत्रमा दैनिक रूपमा पटक-पटक विद्युत अवरुद्ध हुन थालेपछि सर्वसाधारण, व्यवसायी तथा उद्योगीहरू प्रभावित बनेका छन् ।

विशेषगरी हेटौंडा उपमहानगरपालिका, मनहरी, थाहा नगरपालिका तथा जिल्लाका अन्य क्षेत्रमा दिनभर नै छोटो-छोटो समयका लागि विद्युत कटौती हुने क्रम बढेको स्थानीयवासीले गुनासो गरेका छन् । केही स्थानमा एक दिनमै १० देखि १५ पटकसम्म विद्युत जाने गरेको गुनासो छ ।

सामान्यतया वर्षायाममा हुरीबतास, चट्याङ तथा वर्षाका कारण विद्युत आपूर्तिमा अवरोध हुने गरेपनि पछिल्लो समय मौसम सफा रहँदा पनि विद्युत बारम्बार अवरुद्ध हुन थालेको छ । यसले नेपाल विद्युत प्राधिकरणप्रति उपभोक्ताको असन्तुष्टि बढाएको छ ।

हेटौंडाका स्थानीयवासीका अनुसार पूर्वसूचना बिना नै विद्युत जाने र केही मिनेटदेखि घण्टौंसम्म नआउने समस्या देखिएको छ । बारम्बार विद्युत जाँदा विद्युतीय उपकरणमा असर पुग्नुका साथै दैनिक कामकाजमा समेत समस्या हुने गरेको उनीहरूको भनाइ छ ।

गर्मीका कारण पंखा, कुलर तथा अन्य विद्युतीय उपकरणको प्रयोग बढिरहेका बेला हुने विद्युत कटौतीले सर्वसाधारणलाई थप सास्ती दिएको छ । विशेष गरी ज्येष्ठ नागरिक, बालबालिका तथा बिरामीहरू बढी प्रभावित भएका छन् ।

विद्युत कटौतीका कारण व्यवसायिक क्षेत्र पनि प्रभावित बनेको छ । कम्प्युटर तथा इन्टरनेटमा आधारित सेवा सञ्चालन गर्ने व्यवसायीहरूले काम प्रभावित भएको बताएका छन् । बारम्बार विद्युत अवरुद्ध हुँदा ग्राहकलाई सेवा दिन कठिनाइ हुने गरेको उनीहरूको भनाइ छ ।

उद्योग तथा कलकारखानाले समेत उत्पादन प्रक्रियामा असर परेको जनाएका छन् । विद्युत आपूर्तिमा अस्थिरता आउँदा उत्पादन लागत बढ्ने तथा उपकरणमा क्षति पुग्ने जोखिम रहेको उद्योगीहरूको भनाइ छ ।

स्थानीयवासीहरूले समस्या समाधानका लागि नेपाल विद्युत प्राधिकरणले आवश्यक पहल गर्नुपर्ने माग गरेका छन् । विद्युत आपूर्तिमा समस्या हुनुको कारणबारे स्पष्ट जानकारी नदिइँदा उपभोक्तामा अन्योल बढेको उनीहरूको गुनासो छ ।

यता नेपाल विद्युत प्राधिकरण हेटौंडा वितरण केन्द्रले भने विद्युत खपत बढेसँगै केही प्राविधिक समस्या देखिएको हुन सक्ने जनाएको छ । वितरण प्रणालीमा आएको चाप, मर्मत तथा प्राविधिक कारणले केही स्थानमा विद्युत आपूर्तिमा अवरोध भएको हुन सक्ने प्राधिकरणको भनाइ छ ।

यद्यपी समस्या समाधानका लागि प्राविधिक टोली परिचालन गरिएको र आपूर्ति प्रणालीलाई थप भरपर्दो बनाउने प्रयास भइरहेको प्राधिकरणले जनाएको छ ।
गर्मी अझै बढ्ने अनुमान गरिएकाले विद्युत आपूर्तिलाई नियमित र भरपर्दो बनाउन सम्बन्धित निकायले समयमै प्रभावकारी कदम चाल्नुपर्ने आवश्यकता देखिएको छ ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.