हेटौंडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका क्षेत्रमा सडक निर्माण तथा स्तरोन्नति कार्य सञ्चालन गरिएसँगै दुई सडकखण्डमा यातायात प्रभावित हुने भएको छ।
वडा नम्बर २ र ४ अन्तर्गत महालक्ष्मी खोला क्षेत्रमा पर्ने कुलेखानी–फाखेल–हुमाने–फर्पिङ–काठमाडौँ सडकखण्डमा शुक्रबारदेखि करिब १०० मिटर सडक ढलान गर्ने कार्य सुरु गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।
निर्माण कार्य सम्पन्न नभएसम्म करिब एक महिनासम्म उक्त सडकखण्डमा सवारी आवागमन प्रभावित हुने जनाइएको छ। यस अवधिमा यात्रु तथा सवारी चालकलाई वैकल्पिक रूपमा कुलेखानी–सिस्नेरी–दक्षिणकाली सडक प्रयोग गर्न आग्रह गरिएको छ।
यस्तै, थानकोट–चित्लाङ सडक निर्माण तथा सुधार कार्यका कारण आइतबारदेखि जेठ २९ गतेसम्म पानीघट्टदेखि चित्लाङ बजारसम्मको सडकखण्ड पूर्ण रूपमा बन्द रहने भएको छ। सम्बन्धित निकायले उक्त अवधिमा भैंसे–पालुङ–नौबिसे हुँदै त्रिभुवन राजपथको मार्ग प्रयोग गर्न अनुरोध गरेको छ।
निर्माण कार्यका कारण यात्रामा असहजता हुन सक्ने भएकाले सवारी चालक तथा यात्रुहरूलाई यात्रा अघि वैकल्पिक मार्गको जानकारी लिएर मात्र यात्रा गर्न गरेको छ।















