मकवानपुर । बागमती प्रदेशमा ‘गणतन्त्र दिवस २०८३’ तीन दिन विविध कार्यक्रमसहित मनाइने भएको छ ।
मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको अध्यक्षतामा बसेको बैठकले जेठ १३ गतेदेखि १५ गतेसम्म विभिन्न कार्यक्रम आयोजना गरी गणतन्त्र दिवस मनाउने निर्णय गरेको हो ।
सो बैठकले प्रदेशस्तरीय मूल समारोह समिति समेत गठन गरेको छ । मुख्यमन्त्री बानियाँको अध्यक्षतामा गठन गरिएको समितिमा प्रदेशसभाका सभामुख, प्रदेश सरकारका मन्त्रीहरू, प्रतिपक्षी दलका नेता, उपसभामुख, प्रदेश नीति तथा योजना आयोगका पदाधिकारी, सुरक्षा निकायका प्रमुख तथा नेपाल पत्रकार महासङ्घका प्रतिनिधि सदस्य रहने व्यवस्था गरिएको छ ।
गणतन्त्र दिवसका अवसरमा जेठ १३ गते विद्यालयस्तरीय निबन्ध प्रतियोगिता, जेठ १४ गते रक्तदान, निःशुल्क स्वास्थ्य शिविर तथा वृक्षरोपण कार्यक्रम र जेठ १५ गते मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय परिसरमा प्रदेशस्तरीय मूल समारोह आयोजना गरिने जनाइएको छ ।
यस वर्ष गणतन्त्र दिवसको अवसरमा चार जना उत्कृष्ट पत्रकारलाई जनही ५० हजार रुपैयाँ नगदसहित सम्मान गरिने निर्णयसमेत गरिएको प्रदेश सरकारका प्रवक्ता तथा आर्थिक मामिला तथा योजनामन्त्री प्रभात तामाङले जानकारी दिए ।















