मकवानपुर । हेटौंडा–भीमफेदी सडकखण्डअन्तर्गत द्रुतमार्गको सुरुङ निर्माणस्थलमा दुर्घटना हुँदा एक कामदारको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दिया जिल्लाका अन्दाजी ३० वर्षीय रामगोपाल चौधरी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
मकवानपुरका अनुसार, भीमफेदी गाउँपालिका–८ महादेवटारस्थित सुरुङमा काम गर्ने क्रममा फलामबाट बनेको ‘रिपिट’ नामक उपकरण खसेर लाग्दा चौधरी गम्भीर घाइते भएका थिए । उनलाई उपचारका लागि चुरेहिल अस्पताल पुर्याइएकोमा चिकित्सकले मृत घोषणा गरेका हुन् ।
सोही घटनामा मकवानपुरको थाहा नगरपालिका–५ सानोपाखाका २२ वर्षीय सन्तोष बम्जन दाहिने हातमा चोट लागेर घाइते भएका छन् । उनको चुरेहिल अस्पतालमै उपचार भइरहेको प्रहरीले जनाएको छ ।
दुवै जनालाई दोभासे सिन्धुपाल्चोक जुगल गाउँपालिका–३ का ३० वर्षीय बेनु परियारले राति नै अस्पताल पुर्याएका थिए । घटनाबारे थप अनुसन्धानका लागि प्रहरीले दोभासे परियारलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरमा ल्याई घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको छ ।















