मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिका–६ जुरिखेतमा स्कार्पियो र सुमो ठोक्किँदा चालकसहित ९ जना घाइते भएका छन्।
शनिबार साँझ करिब ६ः१० बजे काठमाडौँबाट हेटौँडातर्फ आउँदै गरेको ना. ३च ६०५२ नम्बरको सुमोलाई सोही दिशाबाट आउँदै गरेको बिआर २२ ए जेड २५१७ नम्बरको भारतीय स्कार्पियोले ओभरटेक गर्ने क्रममा ठक्कर दिँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
प्रहरीका अनुसार, ठक्करपछि दुवै सवारी साधन सडकमा पल्टिएका थिए। दुर्घटनामा घाइते भएका सबैलाई उपचारका लागि हेटौँडा अस्पताल ल्याइएको छ ।
दुर्घटनामा सुमो चालक वीरगन्ज महानगरपालिका–१४ का ४८ वर्षीय महबुब आलम मन्सुरी र सुमोमा सवार हेटौँडा–५ शान्तिनगरका ४१ वर्षीय न्युटनबहादुर क्षेत्री घाइते भएका छन्। सुमोमा सवार अन्य दुई जना भने सामान्य अवस्थामै गन्तव्यतर्फ लागेका छन्।
यस्तै, स्कार्पियो चालक भारत बेतियाका २६ वर्षीय सरुप पटेलसहित ३२ वर्षीय गौरवकुमार सराफ, २६ वर्षीय रिसबकुमार सराफ, ३५ वर्षीया रेश्मीदेवी सराफ, ६५ वर्षीया शिलादेवी सराफ, ११ वर्षीय रबिकुमार सराफ र १५ वर्षीया नन्दनी कुमारी सराफ घाइते भएका छन्। उक्त घटनाको बारेमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
















