हेटौंडा । ६९ औं राष्ट्रिय सहकारी दिवस हेटौंडामा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइएको छ । ‘उद्यमशीलता र पारदर्शिताः सहकारीको प्राथमिकता’ भन्ने मूल नाराका साथ प्रभातफेरिसहितको कार्यक्रम गरी सहकारी दिवस मनाइएको हो ।
हेटौंडा ४ हुप्रचौरबाट सुरु भएको प्रभातफेरी र्याली हेटौंडा बजार परिक्रमा पश्चात चौकीटोलमा रहेको हिमालयन दरबारमा पुगेर सहकारी दिवस समारोहमा परिणत भएको थियो ।सहकारी दिवस मूल समारोह समितिका संयोजक नारायणप्रसाद देवकोटाको अध्यक्षतामा भएको कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँको प्रमुख आतिथ्यता रहेको थियो ।
मुख्यमन्त्री बानियाँले मकवानपुरमा समुदायमा आधारित सहकारी भएको र सहकारीले उत्पादनमा आधारित भएर लगानी गर्नुपर्ने सुझाव दिए । राज्यको आर्थिक मेरुदण्डको रुपमा रहेको सहकारीलाई थप व्यवस्थित गर्न प्रदेश सरकारले आवश्यक सहयोग गर्ने उनको भनाई थियो ।कार्यक्रममा जिल्ला स्थित बचत तथा ऋण, बहुउद्देश्यीय, कृषि, दुग्ध उत्पादक लगायत सहकारीले संस्थाको व्यानर, प्लेकार्ड बोकेर विशेषता पोषाकमा सहभागी भएका थिए ।
केही सहकारीले नौमति बाजा र खैँजडी भजनसहित सहभागिता जनाएका थिए । समारोहमा प्रभातफेरीमा उत्कृष्ट प्रदर्शन गर्ने सहकारीहरुलाई नगदसहित पुरस्कृत गरिएको थियो । पुरस्कृत हुनेमा हेटौंडा १३ को महिला मिलन बचत तथा ऋण सहकारी संस्था लि प्रथम, हेटौंडा १८ को साना किसान कृषि सहकारी संस्था लि हर्नामाडी द्वितीय, हेटौंडा १७ को साना किसान कृषि सहकारी संस्था लि हटिया तृतीय स्थान हाँसिल गरेका थिए ।
हेटौंडा ११ को बागेश्वरी महिला बचत तथा ऋण सहकारी संस्था लि, हेटौंडा १९ को साना किसान कृषि सहकारी संस्था बसामाडी, हेटौंडा २ को हातेमालो बचत तथा ऋण सहकारी संस्था लि, हेटौंडा ७ को हेटौंडा बचत तथा ऋण सहकारी संस्था सान्त्वना भएका थिए । सहकारी दिवसको अवसरमा नौमती बाजा प्रदर्शन गर्ने महिला मिलन बचत तथा ऋण सहकारी संस्था लि, साना किसान कृषि सहकारी संस्था लि मनहरी र खैजडी भजन प्रदर्शन गर्ने सुपिङ दुग्ध उत्पादक सहकारी संस्थालाई नगदसहित प्रशंसा पत्रद्वारा सम्मान गरिएको थियो ।
कार्यक्रममा प्रदेशका सहकारी तथा गरिवी निवारण मन्त्री विनु रायमाझी, बागमती प्रदेश सभा सदस्य एकालाल श्रेष्ठ, जिल्ला समन्वय समितिका प्रमुख ललितबहादुर घलान, राष्ट्रिय सहकारी महासंघका सञ्चालक बद्रीप्रसाद लम्साल, केन्द्रिय दुग्ध सहकारी संघका सञ्चालक विदुर हुमागाई, जिल्ला बचत तथा ऋण सहकारी संघ मकवानपुरअध्यक्ष कल्पना श्रेष्ठ, जिल्ला बहुउद्देश्यीय सहकारी संघका अध्यक्ष रामहरि न्यौपाने, जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष हरिप्रसाद कंडेल, जिल्ला कृषि सहकारी संघ मकवानपुर अध्यक्ष रेखा खतिवडा, राष्ट्रिय सहकारी बैंकका प्रमुख समीर श्रेष्ठ, नेफ्स्कुन फिल्ड कार्यालय हेटौंडाकि प्रमुख ज्योति महत लगायतको आतिथ्यता रहेको थियो ।

















