टिकटकको कमाईबाट आश्रमलाई २५ हजार सहयोग

मकवानपुर । मकवानपुरको बकैयाका एक टिकटकरले टिकटकको कमाईबाट मानवसेवा आश्रमलाई सहयोग गरेका छन् । बकैया ४ का २९ वर्षीय रामकुमार गोलेले टिकटक लाइभबाट आम्दानी गरेको रकमबाट मानवसेवा आश्रमलाई नगद २५ हजार रुपैयाँ सहयोग गरेका हुन् ।

गोलेले टिकटकबाट आम्दानी गर्दै सामाजिक कार्यमा समेत योगदान दिँदै आएका छन् । उनले हेटौंडा ९ म रहेको मानवसेवा आश्रममा आश्रय लिइरहेका करिब २५० जनालाई एकछाक भोजन वापत नगद २५ हजार सहयोग उपलब्ध गराएका हुन् ।

बुधबार साँझ उनी आफ्ना पिता वीरबहादुर गोलेसहित आश्रममा पुगेर भोजन सहयोग गरेका हुन् । विगत १० वर्षदेखि वैदेशिक रोजगारीका क्रममा दुबईमा कार्यरत उनले पछिल्लो समय टिकटकमा अंग्रेजी भाषामा बोल्न सिकाउन थालेका थिए ।

उनले आफ्नो टिकटक एकाउन्टबाट अंग्रेजी व्याकरण बारे जानकारी दिँदै आएका छन् । उनका अंग्रेजी व्याकरण सम्बन्धि भिडियोहरू दर्शकले मन पराउन थालेपछि उनले करिब ४ महिनादेखि टिकटक लाइभमार्फत नियमित रूपमा अंग्रेजी कक्षा सञ्चालन गर्दै आएका छन् ।

हाल उनीसँग अंग्रेजी सिक्न लाइभमै जोडिन आउने करिब ६० जना नेपाली विद्यार्थी छन् । उनले टिकटकमै एउटा टिम बनाएका छन् ।आफ्नो आम्दानी र सोही टिम मार्फत संकलन भएको रकमबाट सामाजिक कार्यमा सरिक हुने गरेको उनको भनाइ छ ।

उनका अनुसार उनका टिमका सदस्य तथा विद्यार्थीहरु नेपाल लगायत विश्वका विभिन्न देशमा रोजगारीमा छन् । यस्तै लाइभमा गरेको शिक्षण कार्यबाट उनले राम्रो आम्दानी गर्ने गरेको उनी बताउँछन् ।

प्राप्त आम्दानीको केही प्रतिशत समाज सेवामा लगाउँदै आएका उनले सोही अभियानलाई निरन्तरता दिँदै आश्रममा भोजन सहयोग गरेका हुन् । उनले केही समय अघि बकैयाको प्रभात माध्यमिक विद्यालयमा १५ हजार रुपैयाँ बराबरको शैक्षिक सामाग्री सहयोग गरेका थिए ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.