हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिका–६ एघारघुम्तीस्थित भीमफेदी–कुलेखानी–काठमाडौं सडकखण्डमा आज बिहान करिब ११:२० बजे हाईस गाडी दुर्घटना हुँदा ३ जना घाइते भएका छन्।
काठमाडौंबाट हेटौंडातर्फ आउँदै गरेको बा ३ ख ७८७६ नम्बरको हाईस गाडी ब्रेक फेल भई सडक किनारको भित्तामा ठोक्किँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ।
इलाका प्रहरी कार्यालय भीमफेदीबाट प्रहरी नायब निरीक्षक प्रेम तामाङको कमाण्डमा ट्राफिकसहित ६ जनाको टोली घटनास्थलमा खटिएको थियो। गाडीमा चालकसहित १० जना सवार रहेका थिए।
दुर्घटनामा उदयपुर त्रियुगा नगरपालिका–११ गाईघाटका अन्दाजी ८६ वर्षीय गोरे राई गम्भीर घाइते भएका छन्। ब्रेक फेल भएपछि गाडीबाट हाम फाल्दा पछाडिको टायरले कुल्चिँदा उनको टाउकोमा गम्भीर चोट लागेको प्रहरीले जनाएको छ।
त्यस्तै, उनकी छोरी अन्दाजी ६२ वर्षीया हर्क माया राईको निधार र दाहिने हातमा मध्यम चोट लागेको छ। त्रियुगा नगरपालिका–१० का अन्दाजी ३५/४० वर्षीय शम्भु कटुवालको टाउकोमा मध्यम चोट लागेको छ।
घाइते तीनै जनालाई उद्धार गरी उपचारका लागि हेटौंडा अस्पताल पठाइएको छ भने अन्य यात्रुहरू सामान्य घाइते भई आफैं उपचारका लागि गएको प्रहरीको भनाई छ।
दुर्घटनापछि सडक अवरुद्ध नभएको र गाडी घटनास्थलमै रहेको छ। हाईस चालक भने हालसम्म सम्पर्कमा नआएको बताइएको छ।


















