हेटौँडा । अन्तर्राष्ट्रिय स्तरको डेलिभरी तथा कुरियर सेवा प्रदान गर्दै आएको एजी एक्सप्रेसले मकवानपुरको हेटौँडामा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । उक्त शाखाको आज पूर्व प्रतिनिधिसभा सदस्य दीपकबहादुर सिंहले उद्घाटन गरेका हुन् ।
सो अवसरमा बोल्दै पूर्व सांसद् सिंहले घरेलु उद्योग सञ्चालकले मकवानपुरको उत्पादनलाई सजिलैसँग विभिन्न देशमा पुर्याउने माध्यम एजी एक्सप्रेस भएको भन्दै शुभकामना दिए । महिला दिदीबहिनीहरुले वडा समूहबाटै उत्पादन गरी क्वालिटीको सामान बनाउन सकियो भने विदेशमा पठाउन झन्झ्ट गर्न नपर्ने बताउँदै उक्त उत्पादित सामान एजी एक्सप्रेसबाट पठाउन सकिने उनको भनाई छ ।
साथै उनले पछिल्लो समयमा जेन्जी आन्दोलनपछि प्रतिनिधिसभा सदस्य चुनाव भएको र नेपालको इतिहासमा यस्तो सरकारले आफुले पहिले नदेखेको भन्दै हरेक नेपालीले अत्याधिक मतले जिताइदिएको यो सरकारलाई शुभकाना दिए ।
यस्तै, कम्पनीले हेटौँडा शाखामार्फत् मकवानपुर तथा आसपासका क्षेत्रका ग्राहकलाई अन्तर्राष्ट्रिय स्तरको सेवा प्रदान गरिने एजी एक्सप्रेसका ग्लोबल सीईओ तथा अध्यक्ष तुलसी उप्रेतीले जानकारी दिए ।
उनका अनुसार, हङकङबाट सुरु भएको यस संस्था अहिले विश्वका विभिन्न महादेशमा विस्तार हुँदै आएको छ । हेटौँडामा सञ्चालनमा आएको शाखा कम्पनीको १६ औँ शाखा रहेको बताइएको छ ।
एजी एक्सप्रेसले नेपाली तथा प्रवासी नेपाली समुदायलाई लक्षित गरी सेवा प्रदान गर्ने उद्देश्य राखेको बताउँदै उनले यसको उद्देश्य केवल कुरियर सेवा प्रदान गर्नु मात्र नभई नेपाली समुदायलाई विश्वसँग जोड्ने रहेको बताए ।

हस्तकला, निप्पर, मसला, लत्ताकपडा तथा खाद्यान्न लगायतका नेपाली उत्पादनलाई विदेशमा रहेका नेपाली समुदायसम्म पु¥याउने माध्यम बन्ने कम्पनीको भनाइ छ । यसले गाउँघरका साना उद्यमीलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्न मद्दत पुग्ने अपेक्षा गरिएको छ । एजी एक्सप्रेसका सीईओ उप्रेतीले मूल्य अभिवृद्धि कर (भ्याट), तथा अग्रिम कर कट्टी (टीडीएस) पारदर्शी रूपमा बुझाउँदै राष्ट्र निर्माणमा योगदान पु¥याउन प्रतिबद्धता पनि व्यक्त गरे ।
कार्यक्रममा हेटौँडा उपमहानगरपालिका वडा नम्वर ४ का वडाध्यक्ष नविन सिग्देल, कुरियर संघ नेपाल बागमती प्रदेश अध्यक्ष रामप्रसाद पुडासैनी, एजी एक्सप्रेसका कर्मचारीहरु, सञ्चारकर्मीहरुलगायतको सहभागिता रहेको थियो ।

















