सिकाई उपलब्धिसहित जेसीजको लोम लिडर्स एकेडेमी सम्पन्न

हेटौंडा । नेपाल जेसीजको आयोजनामा ‘लोम लिडर्स एकेडेमी २०२६’ सम्पन्न भएको छ । फागुन १ र २ गते पर्यटकीय नगरी सौराहामा आयोजित कार्यक्रममा देशभरका शाखा अध्यक्ष, महासचिव तथा कोषाध्यक्षहरूको सहभागिता रहेको थियो । यस कार्यक्रमले समुदायमा दीर्घकालीन सकारात्मक प्रभाव पार्ने सन्देश दिएको आयोजक नेपाल जेसीजको दावी छ ।

“एकताको संकल्प, रूपान्तरणको यात्रा” अभियानसँगै वर्ष २०२६ को राष्ट्रिय प्रकरण “Aim • Act • Achieve” लाई केन्द्रमा राख्दै कार्यक्रम सञ्चालन गरिएको थियो । स्पष्ट लक्ष्य निर्धारण (Aim), योजनाबद्ध र प्रभावकारी कार्यान्वयन (Act) तथा परिणाममुखी उपलब्धि हासिल गर्ने प्रतिबद्धता (Achieve) लाई व्यवहारमा उतार्दै समुदायमा दिगो प्रभाव सिर्जना गर्ने उद्देश्य एकेडेमीले लिएको नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष जीवन कार्कीले बताए ।

२ दिनसम्म सञ्चालन भएको एकेडेमीमा नेतृत्व विकास, प्रभावकारी संगठन व्यवस्थापन, रणनीतिक योजना निर्माण, टोली समन्वय तथा उत्तरदायित्व वहनका विषयमा प्रशिक्षण दिइएको थियो । प्रस्तुती, समूह छलफल तथा अन्तरक्रियात्मक सत्रमार्फत सहभागीहरूलाई व्यवहारिक ज्ञान र सीप हस्तान्तरण गरिएको थियो ।

यसले शाखा तहदेखि नै समुदायमुखी कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन गर्न मार्गनिर्देशन गरेको छ । कार्यक्रम बागमती प्रदेश सभा सदस्य उत्तम जोशीको प्रमुख आतिथ्यता तथा नेपाल जेसीजका अध्यक्ष जीवन कार्कीको अध्यक्षतामा सम्पन्न भएको हो । वक्ताहरूले नेतृत्व विकास नै संगठन सुदृढीकरणको आधार भएको उल्लेख गर्दै सकारात्मक सोच, अनुशासन र उत्तरदायित्वसहित समाज रूपान्तरणमा सक्रिय हुन जेसीज अभियन्ताहरूलाई प्रेरित गरेका थिए ।

सहभागीहरूले सिकेका ज्ञान र सीपलाई आफ्ना शाखामा व्यवहारमा उतार्दै राष्ट्रिय प्रकरणको भावनाअनुसार वार्षिक कार्ययोजना प्रभावकारी रूपमा कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
लोम लिडर्स एकेडेमी २०२६ ले शाखा नेतृत्वबीच सहकार्य, अनुभव आदान–प्रदान र सञ्जाल विस्तारमा महत्वपूर्ण टेवा पुर्‍याउँदै समुदाय केन्द्रित नेतृत्व विकासको मार्ग अझ स्पष्ट बनाएको आयोजकको दावी छ ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.