मकवानपुर । मकवानपुर जिल्लाको भीमफेदी गाउँपालिका–८ महादेवटार छोक्रेडाँडा स्थित निर्माणाधीन काठमाडौं–तराई मधेस द्रुतमार्ग (फास्ट ट्र्याक) अन्तर्गत १ नम्बर पुल क्षेत्रमा टुचन मेसिन दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।
हिजो मिति २०८२ माघ २७ गते साँझ करिब ६ः०० बजे खाडल खन्ने काम सकेर टुचन मेसिनमा सवार भई माथि आउने क्रममा एक्कासी ब्रेक फेल भई मेसिन करिब २१ मिटर तल खसेको मकवानपुर प्रहरीले जनाएको छ।
घटनामा जिल्ला सिन्धुपाल्चोक पाँचपोखरी थाङपाल गाउँपालिका–५ घर भई सोही फास्ट ट्र्याक आयोजनामा कार्यरत अन्दाजी २९ वर्षीय अर्जुन थिङको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय ठिंगनका प्रमुख प्रहरी नायव निरीक्षक राजन थापाले जानकारी दिए।
त्यस्तै, सोही गाउँपालिका–६ घर भई उक्त आयोजनामै कार्यरत अन्दाजी ३७ वर्षीय जुल्फे तामाङ खाडलभित्र रहेको अवस्थामा माथिबाट खसेको टुचन मेसिनले ढाडमा चोट लागी घाइते भएका छन् । उनलाई उद्धार गरी थप उपचारका लागि काठमाडौं पठाइएको प्रहरीले जनाएको छ। उनको अवस्था मध्यम रहेको बताइएको छ।
घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।

















