मकवानपुर । हेटौंडा उपमहानगरपालिका–१५ चुरियामाईस्थित पूर्व–पश्चिम सडकखण्डमा डिजेल बोकेको ट्याङ्करमा आगलागी भएको छ। सोमबार अपराह्न करिब ४:२० बजे अमलेखगंजबाट रुपन्देहीतर्फ जाँदै गरेको लु १ ख ६६०९ नम्बरको डिजेल लोड ट्याङकर गुडिरहेको अवस्थामा अचानक इन्जिनको भागबाट आगलागी जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ।
आगलागीको खबर ४:२२ बजे प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय पशुपतिनगर, मकवानपुरबाट प्रहरी निरीक्षक किशोर आचार्यको कमाण्डमा ७ जना प्रहरी तथा प्रहरी चौकी रातोमाटे मकवानपुरबाट ट्राफिक प्रहरीसहित ४ जनाको टोली घटनास्थलमा खटिएको थियो।
आगो नियन्त्रणका लागि हेटौंडा उपमहानगरपालिकाको एक दमकल र अमलेखगंज आयल निगम, बाराको एक दमकल गरी जम्मा २ वटा दमकल प्रयोग गरिएको थियो। दमकलको सहयोगमा आगो ५:०५ बजे पूर्ण रूपमा नियन्त्रणमा आएको प्रहरीले जनाएको छ।
आगलागीका कारण ट्याङकरको अगाडिको भागमा क्षति पुगेको भए पनि इन्धन रहेको भागमा कुनै क्षति नपुगेको जनाइएको छ। घटनामा कुनै मानवीय क्षति नभएको र सडक हाल एकतर्फी रूपमा सञ्चालनमा रहेको बताइएको छ। घटनास्थल ईलाका प्रहरी कार्यालय पशुपतिनगरबाट करिब ८ किलोमिटर दक्षिणतर्फ पर्दछ।
प्रहरीका अनुसार ट्याङकर चालक रुपन्देही जिल्ला, सैनामैना नगरपालिका–३ निवासी ५८ वर्षीय कृष्णबहादुर थापा रहेका छन्। ट्याङकरमा चालक मात्र सवार रहेका थिए। घटनासम्बन्धी अन्य विस्तृत विवरण पछि सार्वजनिक गरिने प्रहरीको भनाई छ।















