मकवानपुर । अवैध रूपमा कागजपत्र बिना ओसारपसार गरिएका ७ वटा चौपाया (गोरु) सहित एक मिनी आइचर ट्रक प्रहरीले नियन्त्रणमा लिएको छ।
शनिबार दिउँसो करिब १:३० बजे ईलाका प्रहरी कार्यालय मनहरी, प्रहरी चौकी सुनाचुरी र मकवानपुरबाट खटिएको प्रहरी टोलीले मनहरी गाउँपालिका–६, सुनाचुरी चेकपोष्ट अगाडि पूर्व–पश्चिम सडकखण्डमा चेकजाँच गर्ने क्रममा चितवनबाट हेटौंडातर्फ आउँदै गरेको बा.प्र.०३–००१ ख १२२० नम्बरको मिनी आइचर ट्रक रोकी जाँच गरेको थियो।
चेकजाँचका क्रममा ट्रकमा आवश्यक कागजपत्र बिना अवैध रूपमा ल्याइएका ७ वटा गोरु फेला परेपछि ट्रक चालक हेटौंडा उपमहानगरपालिका–१५ का २५ वर्षीय अखिल भण्डारी र सहचालक मनहरी गाउँपालिका–७ का अन्दाजी ४२ वर्षीय खडक बहादुर विश्वकर्मालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ।
नियन्त्रणमा लिइएका चौपाया तथा दुवै व्यक्तिलाई आवश्यक कानुनी कारबाहीका लागि पशु सेवा केन्द्र, हेटौंडा (मकवानपुर) पठाइएको प्रहरीले जनाएको छ।
















