मकवानपुर । तामाङ समुदायको पर्व सोनाम ल्होछारको अवसरमा मकवानपुरको बकैया गाउँपालिकाले पनि विदा दिने निर्णय गरेको छ । पालिकाले सोनाम ल्होछार पर्वको अवसरमा तीन दिन सार्वजनिक विदा दिने निर्णय गरेको हो ।
गाउँपालिकाले बुधबार जारी गरेको सूचनामा माघ ३, ४ र ५ गते स्थानीय विदा दिने भएको हो । सो अवधिमा गाउँपालिकाका सबै वडा कार्यालय, स्वास्थ्य संस्था तथा शैक्षिक संस्थाहरू बन्द हुने सूचनामा भनिएको छ ।
पालिकाका प्रमुख प्रशासकीय अधिकृत बिनोद पोखरेलले हस्ताक्षर गर्नुभएको सूचनामा मञ्जुश्री संवत २८६२ ता ल्हो (घोडा वर्ग) सोनाम ल्होछारको शुभकामना समेत व्यक्त गरिएको छ ।
यसअघि आजै मकवानपुरको राकिसराङ गाउँपालिकाले पनि सोनाम ल्होछारको अवसरमा दुई दिन सार्वजनिक विदा दिने निर्णय गरेको थियो । तामाङ समुदायको नयाँ वर्षको रुपमा हरेक वर्ष माघ शुक्ल प्रतिपदाको दिन हर्षोल्लासका साथ मनाइने सांस्कृतिक पर्वको अवसरमा आगामी माघ ४ र ५ गते दुई दिन सार्वजनिक विदा दिने पालिकाले निर्णय गरेको हो ।
सार्वजनिक विदामा गाउँपालिका भित्रका सम्पूर्ण सरकारी कार्यालय, शिक्षण संस्था, सार्वजनिक संघ–संस्था एवम् बैंक तथा वित्तीय संस्थाहरू बन्द रहने भनिएको छ ।















