हेटौंडा । नेपाल तामाङ घेदुङ मकवानपुरगढी गाउँपालिकाको आयोजनामा २८६२ औँ ता ल्हो (घोडा वर्ग) सोनाम ल्होछारको अवसरमा वृहत् सांस्कृतिक कार्यक्रमको आयोजना हुने भएको छ । मंगलबार समितिले हेटौंडामा पत्रकार सम्मेलनको आयोजना गर्दै आगामी माघ ३ गते कार्यक्रम गर्न लागेको जानकारी दिएको हो ।
कार्यक्रम मकवानपुरगढी गाउँपालिका १ रानीबासस्थित एग्रो टुरिजम पार्कमा आयोजना हुने समितिका अध्यक्ष सानोकान्छा थिङले जानकारी दिए । तामाङ समुदायको संस्कृति, कला, भेषभुषा र पहिचानको संरक्षण एवम् प्रवद्र्धनका लागि कार्यक्रमको आयोजना गर्न लागिएको अध्यक्ष थिङले बताए । कार्यक्रममा तामाङ सेलोका चर्चित कलाकार गायक प्रकाश तितुङ, सञ्जीव घिसिङ, बिक्रम लुङ्बा लगायत अन्य कलाकारहरूको गायन प्रस्तुति रहनेछ ।
साथै विविध सांस्कृतिक नृत्य प्रस्तुती पनि समावेश हुने कार्यक्रमका कलाकार संयोजक एवम् समितिका उपाध्यक्ष बिक्रम योञ्जनले जानकारी दिए । कार्यक्रममा सांस्कृतिक झाँकी प्रदर्शन, ताम्बा–डम्फुरेको प्रस्तुती तथा लामाद्वारा विधिपूर्वक पूजा गरिने उपाध्यक्ष योञ्जनले बताए । कार्यक्रम सञ्चालनका लागि मकवानपुरगढी गाउँपालिकाले ५ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । यस्तै १ नम्बर वडा कार्यालयले विशेष सहयोग गरेको आर्थिक संयोजक राज स्याङ्तानले जानकारी दिए ।
आयोजकका अनुसार कार्यक्रम सञ्चालनका लागि करिब ७ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । कार्यक्रममा गाउँपालिकाको कृषि शाखाले रैथाने बाली, कोदो, फापर, गहुँ लगायतका परिकारको स्टल राखी प्रदर्शन गर्नेछ । पत्रकार सम्मेलनमा वडा नम्बर १ का वडा अध्यक्ष आइत सिंह लो, समितिका सल्लाहकार आकाश गोले, राजकुमार गोले लगायतको उपस्थिति रहेको थियो ।















