हेटौंडा । बागमती प्रदेशको राजधानी हेटौंडासँग जोडिएको मकवानपुरगढी गाउँपालिका-४, नयाँ खोरिया र कुसुमटारका स्थानीय बासिन्दाले संघीयता कार्यान्वयनपछि १८ वर्ष लामो संघर्षको फलस्वरूप पहिलो पटक आफ्नै घरघरमा धाराबाट खानेपानी बग्न थालेका छन्।
प्रदेश राजधानीबाट करिब ६ किलोमिटर दूरीमै रहे पनि वर्षौँसम्म पानी र बिजुली दुवैको अभाव झेल्दै आएका स्थानीयका लागि यो उपलब्धि ऐतिहासिक बनेको छ। घरघरमा धारा पुगेपछि ६१ वर्षीया लक्ष्मीमाया भ्लोन खुसीले दंग पर्नुभएको छ। विगत सम्झिँदै उनी भन्छिन्, “बिहान ५ बजे उठेर धारामा जान्थ्यौँ। गाग्रीमा पानी बोकेर दिन बित्थ्यो। आधा दिन त पानी ओसार्नमै जान्थ्यो।”
खानेपानीको स्रोत बस्तीभन्दा निकै तल भएकाले डोकोमा पानी बोकेर उकालो चढ्नुपर्ने बाध्यता थियो। पानीको अभावले खेतीपातीदेखि गाईबस्तु पाल्नसमेत कठिन अवस्था सिर्जना गरेको थियो। कमजोर विद्युत् आपूर्तिका कारण साँझपख अँध्यारोमै दिन बिताउनु पर्ने अवस्था पनि थियो।
लक्ष्मीमाया भ्लोन अक्षर चिन्दिनन्, तर घरघरमा धारा पुर्याउने दृढ इच्छाशक्तिले उनलाई नयाँ खोरिया खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको अध्यक्ष बनायो। उनीसँगै स्थानीयलाई संगठित गर्दै निरन्तर संघर्ष भयो। संघीय संरचनापछि प्रदेश सरकारबाट बजेट सहयोग उपलब्ध भएपछि योजना अघि बढ्दा करिब ६० घरधुरी प्रत्यक्ष रूपमा लावान्वित भएका छन्।
लक्ष्मीमायाका छोरा पूर्णबहादुर भ्लोन पछिल्लो चार वर्षदेखि समितिको अध्यक्ष बनेर योजनाको नेतृत्व सम्हाल्दै आएका छन्। उनले २१ वर्षअघि देखेको सपना साकार पारेका हुन्। उनी भन्छन्, “हामी पुर्खादेखि खोल्साको पानी पिउँदै आएका थियौँ। अहिले सफा र पिउन योग्य पानी २४ घण्टा घरमै आइरहेको छ। संघीयतापछि मात्रै यो सम्भव भयो।”
स्थानीयका अनुसार मकवानपुरगढी–४ विकासका हिसाबले अझै पछाडि परेको वडा हो। सडक सञ्जाल कमजोर हुँदा सहज आवागमनको समस्या कायमै छ। तर राजधानीको छेउमै रहेको गाउँसम्म पानी ल्याउनु असम्भवजस्तै ठानिएको काम सफल भएको उनीहरूको भनाइ छ।
सुरुमा ५ हजार लिटर क्षमताको सानो ट्याङ्कीबाट सुरु गरिएको योजना हाल ६३ हजार लिटर क्षमताको पानी ट्याङ्कीसम्म विस्तार गरिएको छ। प्रदेश सरकारको करिब ५६ लाख रुपैयाँ बजेट र स्थानीयवासीको श्रमदानबाट योजना सम्पन्न भएको हो। अब गाउँमा २४ सै घण्टा नियमित खानेपानी आपूर्ति हुने अपेक्षा गरिएको छ।
नयाँ खोरिया खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले मंगलबार एक समारोह बीच खानेपानी आयोजनाको औपचारिक उद्घाटन गरेको छ। समिति अध्यक्ष भ्लोनको अध्यक्षता तथा प्रदेशसभा सदस्य लक्ष्मी श्रेष्ठको प्रमुख आतिथ्यतामा धारामा पानी प्रवाह गरेर आयोजना उद्घाटन गरिएको थियो।
कार्यक्रममा मकवानपुरगढी गाउँपालिका–४ नम्बर वडाका वडा अध्यक्ष अर्जुनप्रसाद तिमल्सिना, मनकामना वन उपभोक्ता समिति अध्यक्ष सर्कलाल लो, खानेपानी उपभोक्ता समिति सचिव सानुबहादुर तितुङ र स्थानीयहरुको उपस्तिथि रहेको थियो।
वडा अध्यक्ष तिमल्सिनाले सबैको सहकार्यले योजना सफल भएको बताए । उनले विधि र विधानमा रहि उपभोक्ता समिति सञ्चालन गर्न सके दिगो रुपमा फाइदा हुनेमा जोड दिए । यस्तै, प्रदेशसभा सदस्य श्रेष्ठले आगामी दिनमा थप पूर्वाधार विकासका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरिन्।
अब स्थानीयको एउटै समस्या छ – सडक। उनीहरू राजधानी नजिकै भएर पनि दुरदराजको अनुभूति हट्ने दिनको प्रतीक्षामा छन्।
















