हेटौंडा । नेपाल जेसीजको वर्ष सन् २०२६ का लागि कार्यकारिणी उपाध्यक्षमा हेटौंडा जेसीजका निवर्तमान अध्यक्ष विकेशलाल श्रेष्ठ निर्वाचित भएका छन् । यही पुस ४ गतेदेखी जनकपुर जेसीजको आतिथ्यतामा आयोजित नेपाल जेसीजको ५२ औं राष्ट्रिय महाधिवेशनबाट श्रेष्ठ कार्यकारिणी उपाध्यक्ष पदमा निर्वाचित भएका हुन् ।
श्रेष्ठसहित मकवानपुरका २ जनाले नेपाल जेसीजमा उम्मेदवारी दिएका थिए । राष्ट्रिय उपाध्यक्ष पदमा उम्मेदवारी दिएका पालुङ जेसीजका अध्यक्ष माधव कार्की भने पराजित भए । श्रेष्ठले हेटौंडा जेसीज २०२४ को अध्यक्ष तथा नेपाल जेसीज २०२५ को महासचिव भएर काम गरिसकेका छन् । कार्यकारिणी उपाध्यक्षमा विजयी श्रेष्ठले ८१६ मत प्राप्त गरेका थिए । उपाध्यक्षमा पराजित कार्कीले ४९४ मत प्राप्त गरेका थिए । नेपाल जेसीजको महाधिवेशनबाट एक अध्यक्ष, ४ कार्यकारिणी उपाध्यक्ष र १२ उपाध्यक्ष निर्वाचित हुने विधानतः व्यवस्था रहेको छ ।
अध्यक्षमा ४ जना, कार्यकारिणी उपाध्यक्षमा ६ जना र उपाध्यक्षमा २० जनाले प्रतिस्पर्धा गरेका थिए । अध्यक्ष पदमा भने रामेछाप जेसीजका पूर्व अध्यक्ष जीवन कार्की निर्वाचित भएका छन् । ५१२ मत ल्याई कार्की अध्यक्ष पदमा निर्वाचित भएका हुन् । कार्कीका प्रतिस्पर्धी विजय गुरुङले ४६२ मत, रश्मी शिल्पकारले १४७ मत र राजाराम गौतमले ८३ मत पाएका छन् । शुक्रबारदेखि जनकपुरमा भएको जेसीजको महाधिवेशनमा नयाँ नेतृत्वका लागि आइतबार अबेरसम्म मतदान भएको थियो ।
नयाँ नेतृत्व छनोट गर्दै जनकपुरमा जारी महाधिवेशन सोमबार सकिएको छ । अध्यक्षमा निर्वाचित कार्कीले कानूनी सल्लाहकारमा तरहरा जेसीजका पूर्व अध्यक्ष बहादुर तामाङ, महासचिवमा नारायणगढ जेसीजका पूर्व अध्यक्ष अमर घिमिरे र कोषाध्यक्षमा चाराली जेसीज २०२५ का अध्यक्ष सुजुप सुवेदीलाई मनोनित गरेका छन् । युवाहरुको नेतृत्व र व्यक्तित्व विकास सँगै सामाजिक कार्यमा कृयाशिल संस्था जेसीजमा एक व्यक्ति एक वर्ष एक कार्यकाल हुने प्रावधान रहेको छ ।















